NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रहरी सेवाबाट बिदा भए तीन कुकुर, अब कहाँ पठाइन्छ ?

के कुकुरको बढुवा हुन्छ ?

काठमाडौं । बागमती प्रदेशका जिल्लामा अपराधका घटना हुनेबित्तिकै प्रहरी सँगसँगै खटिन्थे शेरे, टाइगर र जोन । अपराधीको पहिचान गर्न मुख्य भूमिका निर्वाह गर्ने यी कुकुरहरूले आफूलाई दिइएको भूमिका उत्कृष्ट निर्वाह गरे ।

ल्याब्रेडर जातको शेरे, जर्मन सेफर्ड जातका टाइगर र जोनले झण्डै एक दशक प्रहरीमा सेवा गरे, तोकिएको भूमिका निभाए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएअनुसार जोन र शेरेले आफ्नो सेवा अवधिमा १ हजार २०० पटक लागू औषध खोजी गर्न सफल भएका थिए ।

त्यस्तै, टाइगरले सुरक्षाका लागि ७०० पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, संसद भवनलगायत स्थानमा चेकजाँचको काम गर्यो ।
९ वर्ष प्रहरी सेवामा रहेर अनवरत रूपमा प्रहरीसँगसँगै सुरक्षा सेवामा खटिएका उनीहरू बुधबार सेवाबाट बिदा भए ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको केनाइन शाखाले उनीहरूलाई सम्मानपूर्वक बिदा गरेको हो । सेवा निवृत्त यी कुकुर हाल प्रहरीसँगै छन् । कसैले पाल्न चाहेको खण्डमा यी कुकुर लैजान सक्नेछन् । तर त्यसका लागि निवेदन दिनुपर्नेछ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले कसैले निवेदन हालेका आधारमा कुकुर लैजान सक्ने जानकारी दिए । त्यसका लागि पैसा तिर्नु पर्दैन । कसैको निवेदन नपरेको अवस्थामा ती कुकुरलाई प्रहरी कार्यालयमै अन्य कुकुरको आक्रमणबाट जोगाएर राखिनेछ ।

प्रहरी सेवा पूरा गरेर उनीहरू प्रहरी कुकुर(के–९)हरूको विषयगत संख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्यनिर्देशन–२०८० बमोजिम सेवा निवृत्त भएका हुन् ।

बागमती प्रदेशअन्तर्गतका जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरेर अपराध अनुसन्धानमा यी कुकुरहरूले उत्कृष्ट भूमिका निर्वाह गरेको प्रवक्ता रेग्मीले बताए । उनका अनुसार, कुकुरको प्रजातिअनुसार जिम्मेवारी बाँडफाँट हुने गर्छ ।

आकारमा ठूला, चुलबुले र चकचके प्रवृत्तिका कुकुरलाई लागूऔषधको अपराध अनुसन्धानमा खटाइन्छ । त्यस्तै, शान्त स्वभावका कुकुरलाई भागेका मान्छे ट्रयाक गर्ने जिम्मेवारी दिइन्छ । उनीहरूको ‘ब्रिड’ अनुसार नै स्वभावको पहिचान गरेर कस्तो तालिम दिने भन्ने निर्धारण गरिएको हुन्छ । हाल प्रदेश कार्यालयसँग जर्मन सेफर्ड, बेल्जियम सेफर्ड र एल्सेसन जातका ७ कुकुर छन् ।

यी कुकुरहरूले कर्तव्य ज्यान मुद्दाका अभियुक्त, लागूऔषध दुव्र्यसनी पत्ता लगाउन मद्दत गरिरहेको उनले जानकारी दिए । त्यसबहेक पहिरो, भूकम्पलगायत प्राकृतिक प्रकोपमा पुरिनेहरू ट्रयाक गर्न पनि सहजीकरण गर्ने रेग्मीले बताए ।

प्रहरी सेवामा रहेका कुकुरको बढुवाबारे पनि चर्चा हुने गर्छ । तर रेग्मी यो सत्य नभएको बताउँछन् ।