NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण प्रतिनिधिमण्डलमा को-को छन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठ सदस्यीय टोलीसहित संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्र सचिव भरतराज पौड्याल, चिफ अफ प्रोटोकोल दिलिपकुमार पौडेल, प्रोटोकल अधिकृत उत्तमप्रसाद न्यौपाने, लेफ्टिनेन्ट कर्नेल निरज भण्डारी, डिएपी सिद्धराज न्यौपाने र राससका फोटो पत्रकार प्रदीपराज वन्त सहभागी छन् ।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायतले बिदाइ गरे ।

प्रधानमन्त्री दाहाल आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नेछन् । साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ ।