NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

शेखरले किन खोजिरहेका छन् प्रधानमन्त्रीमा प्रचण्डको विकल्प ?

काठमाडौँ — कांग्रेसको संस्थापनइतरका नेता शेखर कोइरालाले केही राजनीतिक मुद्दाहरूको उठान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् ।

ठूलो दलको हैसियतले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने कोइरालाको अभिव्यक्तिले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैलाई सशंकित बनाएको छ । सत्ता गठबन्धनका मुख्य नेताहरूको स्वार्थका कारण भ्रष्टाचार काण्डको अनुसन्धानले गति लिन नसक्दा आम जनतामा निराशा बढाएको, कोशी प्रदेशमा दुई–दुई पटक सरकार गठनमा असंवैधानिक कदमलाई साथ दिएको, प्रधानमन्त्रीले जातीय मुद्दा उठाएर समाजलाई द्वन्द्वतिर धकेल्न खोजेको लगायत आरोप लगाउँदै कोइरालाले सरकारको नेतृत्व बदल्नुपर्ने सार्वजनिक धारणा व्यक्त गरेका हुन् ।

‘संसद्मा हामी ८८ सांसद छौं, नौ जना मन्त्री नै छौं तर तपाईंहरूलाई लागिरहेको होला, हाम्रा मन्त्रीहरूले काम गरिरहनुभएको छ भनेर । मन्त्रीजीहरूले केही गर्नै सक्नुभएको छैन । संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक अरू मन्त्रीहरूको कुनै रोल हुन्न, यो बुझ्न जरुरी छ । प्रधानमन्त्री र मुख्यमन्त्री बसेर निर्णय गरेपछि त्यही निर्णय सदर हुन्छ,’ गत शनिबार चितवन कांग्रेसको जिल्ला सम्मेलनमा पहिलोपल्ट दाहाल सरकारको विकल्प खोज्नुपर्ने बताउँदै कोइरालाले भनेका थिए, ‘त्यसकारण अब कांग्रेसको नेतृत्वमा सरकार बन्नु जरुरी छ । अनि मात्रै हामी अगाडि बढ्न सक्छौं ।’ चितवनपछिका सार्वजनिक मञ्चहरूमा पनि कोइरालाले यही धारणा दोहोर्‍याउँदै आएका छन् ।

पछिल्लो समय देउवासँग उनको दूरी बढ्दै गइरहेको छ । तर पार्टी र संसदीय दलमा देउवाको बलियो घेरा तोडेर आफैं आउने सम्भावना देखिँदैन । आफ्नो प्रतिकूल अवस्थाका बाबजुद पनि कोइरालाले गठबन्धनभित्रै संशय पैदा गराउने गरी सरकारको नेतृत्व बदल्ने कुरा किन गरिरहेका छन् त ? केन्द्रीय सदस्य प्रदीप पौडेल गठबन्धनको नेतृत्व बदल्दा सभापति देउवालाई मन्त्रीका आकांक्षीहरूलाई व्यवस्थापन गर्न गाह्रो हुने र त्यसले आफूलाई सहज हुने ठानेर कोइरालाले नेतृत्व बदल्ने कुरा गरेको हुन सक्ने अनुमान गर्छन् । तर, सभापतिले नचाहेसम्म तत्काल गठबन्धन परिवर्तन हुने वा यही गठबन्धनमा नेतृत्व बदल्ने सम्भावना नभएको उनको बुझाइ छ ।

ठूलो दलको हैसियतले देउवालाई प्रधानमन्त्रीका लागि अघि सर्नु भनेर कोइरालाले नै प्रस्ताव राख्दा त्यसको दुइटा सन्देश जान सक्ने उनको अनुमान छ । ‘जति प्रयास गर्दा पनि देउवा प्रधानमन्त्री बन्न तयार हुनु भएन भने आफू अघि बढ्न सहज हुन्छ भन्ने सोचिएको हुन सक्छ,’ पौडेल भन्छन्, ‘अर्कोतर्फ, प्रधानमन्त्री बन्न तयार हुनुभयो भने पनि मन्त्री हुन लामबद्ध भएका धेरै सांसद असन्तुष्ट बन्छन् । शेरबहादुरसँगको भ्रम पनि तोडिन्छ । त्यसको लाभ आफूलाई मिल्छ भन्ने मनोविज्ञान हुन सक्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।