NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ १ गते

ईःलगायतको माग सम्बेधनका लागि गगनले बालेनसँग वार्ता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले अभियन्ता ईंः लगायतसँग वार्तामा ल्याउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटेरै कुरा गर्ने भएका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले राष्ट्रिय सभागृह अगाडि ७७ घण्टा उभिएर महानगरको ध्यानाकर्षण गराइरहेका ईः लगायतका अभियन्ताबारे कुरा गर्न बालेनसँग भेट्ने प्रयास गरिरहेको बताएका हुन् ।

ईःहरूले शान्तिपूर्ण रुपमा फुटपाथ व्यवासायीलाई विस्थापन नभएर व्यवस्थापन गरिनुपर्छ भनेर विरोध अभियान थालेको आज छैटौं दिन हो । उनीहरूले काठमाडौं महानगरपालिका र सभागृह अगाडि ७७ घण्टा उभिएर विरोध जनाएका छन् ।

सांसद थापाले निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहेका ईःलगायतका अभियन्तासँग महानगरले संवाद गर्नुपर्ने बताएका छन् । आपसी वार्ता गरेरै फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्न सकिनेबारे उपाय निस्किने उनले बताएका हुन् ।

‘लोकतन्त्रमा आन्दोलनरत सबैको आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ । ईः लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरु छन्,’ उनले लेखेका छन्, ‘सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्किन्छ नै । त्यसकारण मेरो आग्रह छ–निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरु र महानगरबीच शीघ्र संवादको वातावरण बनोस् ।’