NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

रातभर के भए ? : प्रहरी जवानको हत्या, घरको छतबाट खसे बालक

काठमाडौं । २०८० असोज ८ गते राति देशको राजधानी काठमाडौं शान्त रहेपनि काठमाडौं बाहिर भने केही अप्रिय घटना भएको छ ।

पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ
बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा सोमबार बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ ।

पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा गई शव बरामद गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

स्थानीयवासीका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । यद्यपि केही समयअघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे । उनी हाल गाउँमै खेतीपाती गर्दै आएका थिए । प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ । मृतक सिंह पूर्वप्रहरीसमेत हुन् । उनी सशस्त्र प्रहरी बलमा पाँच वर्षमात्र कार्यरत रहेका थिए । केही महिनाअगाडि मात्रै उनले जागिर छोडेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

यो घटना आइतबारको भएपनि सोमबार दिनभर सार्वजनिक नभएका कारण हामीले यहाँ समावेश गरेका हौँ ।

घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो । प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दैै अष्ट्रेलिया
क्यानबेरा । अष्ट्रेलिया सरकारले समूहमा आफ्नो भूमिमा भ्रमणमा आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा ९भिसा० जारी गर्ने प्रक्रिया पुनः सुरु गरेको छ ।

व्यापार एवं पर्यटन मन्त्री डन फारेलका अनुसार स्वीकृत गरिएका गन्तव्यमा चिनियाँ पर्यटकलाई भिसा जारी गरिने छ । कोरोना महामारीपछि पहिलो पटक भिसा जारी गर्ने प्रक्रिया पुनः सुरु गरिएको हो ।

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । असहज महसुस भएपछि सोमबार बिहान अस्पताल ल्याइएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन् ।

उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।