स्थानीय तहका ११ प्रशासकीय अधिकृत जो भ्रष्टाचार मुद्दा खेपिरहेका छन्

काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एकपछि अर्को भ्रष्टाचारमा मुछिँदै गएका छन् । पछिल्लो पटक मात्रै पूर्व तथा बहालवाला ११ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई महिनामा बहालवाला दुई पालिका प्रमुखसहित १२ जनप्रतिनिधि र ११ प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
मुद्दा खेपिरहेका प्रमुख प्रशासकीय अधिकृतमा विश्वराज मरासेनी, राजेन्द्र भण्डारी, घनश्याम यादव, हरिदत्त जोशी र लक्ष्मण अर्याल छन् । उनीहरूमाथि क्रमशः सिम्रौनगढ नगरपालिका बारा, लिखुपिके गाउँपालिका, सोलुखुम्बु, बोदेबर्साइन नगरपालिका, सप्तरी, भीमदत्त नगरपालिका कञ्चनपुर र मर्चवारी गाउँपालिका, रूपन्देहीको प्रमुख प्रशासकीय अधिकृत छँदा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । भ्रष्टाचारविरुद्धको मुद्दा अदालतमा दायरपछि उनीहरू सबै अहिले निलम्बित छन् ।
त्यस्तै, सिम्रौनगढ नगरपालिका बाराकै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह, पिपरा गाउँपालिका महोत्तरीकी रञ्जिता झा, छायानाथ रारा नगरपालिका, मुगुका ललितजंग मल्ल, शैल्यशिखर नगरपालिका, दार्चुलाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, सिद्धिचरण नगरपालिकाका भोजराज खतिवडा र त्रियुगा नगरपालिकाका किरणबहादुर कार्की छन् ।
कोमाथि के आरोप ?
त्रियुगा नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत मिलेर गिटी, बालुवा ठेक्कामा ८१ लाख ३५ हजार राजस्व हिनामिना गरेको आरोप छ । यही आरोप पूर्वमेयरसहित चारविरुद्ध मुद्दा दायर भएको छ । सिम्रौनगढका प्रमुख प्रशासकीयविरुद्ध अनुदान दुरुपयोग गरेको आरोप छ । यही आरोपमा यो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ । यो नगरपालिकामा ६ महिनामै प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको दोस्रो मुद्दा दायर भएको हो ।
सम्पन्न भइसकेको कामको भुक्तानी माग्दा घुस रकम माग गरेपछि विष्णुपर गाउँपालिका अध्यक्षसहित तीनविरुद्ध मुद्दा भएको छ । सोलुखुम्बुको लिखुपिकेमा निःशुल्क प्राप्त जग्गालाई ६ लाखमा किनेको देखाएर भ्रष्टाचार गरेको खुलेपछि त्यहाँका तत्कालीन प्रशासकीय अधिकृत अहिले अदालतमा मुद्दा खेपिरहेका छन् ।
बोदेबर्साइनमा त आयोजना नै नथाली पौने १५ लाख भुक्तानी भएको पाइएको छ । भीमदत्त नगरपालिकामा ढुंगा, गिटी, बालुवाको ठेक्कामा सवा करोड छुट दिइएको खुलेपछि तत्कालीन मेयर र निमित्त प्रमुख प्रशासकीयसहित १० विरुद्ध मुद्दा दायर भएको छ ।
मर्चवारीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पनि अदालतमा मुद्दा दायर गरेको छ । उनीमाथि प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको र उक्त रकम छोराको खातामा राखेको आरोप छ ।
महोत्तरीको पिपरामा गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन बनाएर भ्रष्टाचार भएको छ भने छाँयानाथ रारामा पार्क निर्माणमा साढे ३८ लाख हिनामिना गरिएको छ ।
उता, शैल्यशिखरमा झुटा बिल बनाएर २६ लाखभन्दा बढी भुक्तानी भएको छ । प्रमुख प्रशासकीय अधिकृत छँदा भ्रष्टाचार गरेको आरोपमा खोटाङका सिडिओ भोजराज खतिवडाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायरसँगै उनी निलम्बनमा परेका छन् ।
प्रतिक्रिया