NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आन्दोलनमा सहभागी हुन हिँडेका शिक्षक सवार गाडी दुर्घटना, १० जना घाइते

काठमाडौं । सिन्धुलीबाट काठमाडौं हिँडेका शिक्षक सवार गाडी विपी राजमार्ग अन्तरगत सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा दुर्घटना भएको छ । ००१ज००६२ नम्बरको इलेक्ट्रोनिक जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी हुन उनीहरु शुक्रबार सिन्धुलीबाट हिँडेका थिए । दुर्घटनामा परेर घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

घाइते हुनेमा शिक्षक कमलामाई-६ की निर कुमारी चालिसे, कमलामाई-५ की कमला घिमिरे, तिनपाटन-१० का राजन कार्की, कमलामाई नगरपालिका-६ का सरोज थापा, कमलामाई-१ का मुकुन्द थापा, भुवन थापा, कमलामाई-४ की बविता देवकोटा, बनेपा-१० की गार्की बस्नेत, कनपा-६ का विष्णु ढकाल र उनका छोरा निश्चल ढकाल घाइते छन्।

घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडकको बायाँतर्फको नालीमा खसेको प्रहरीले जनाएको छ । गाडीमा ११ जना सवार थिए ।