NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जहाज किन्न निगमलाई समितिको सुझावः सोल्टी होटलको सेयर विक्री गर्नू

काठमाडौं । नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको सेयर विक्री गरेर जहाज खरिद गर्न सुधार समितिले सुझाव दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगम सुधारका लागि भनेर गठन गरेको समितिले यस्तो सुझाव दिएको हो । पूर्व गभर्नरसमेत रहेका दीपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा गठित उक्त प्रतिवेदन आज मन्त्रालयमा बुझाइएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार निगमको वर्तमान वित्तीय अवस्था कमजोर रहेको निष्कर्ष निकाल्दै जहाज खरिदका लागि आवश्यक स्रोत जुटाउन सुझाव दिइएको हो । त्यस अन्तर्गत निगमको नाममा भएको सोल्टी होटलको सेयर विक्रीका लागि सुझाइएको छ ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार निमगको नाममा सोल्टी होटल लिमिटेडमा १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर छ । हाल ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रूपैयाँ बजार मूल्य उक्त सेयर विक्री गर्न भनिएको हो ।

‘सोल्टी होटल लिमिटेडको उक्त सेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ ।

मन्त्री सुदन किराँतीले आन्तरिकतर्फको उडानका लागि निगमको आफ्नै खर्चमा तीनवटा जहाज खरिद गर्ने बताउँदै आएका छन् ।

निगमले आफ्नै क्षमतामा जहाज खरिद गर्ने तयारी गरिरहेको अवस्थामा समितिले भने स्रोत जुटाउनका लागि सेयर विक्री गर्न सुझाएको छ । निगमको व्यापार विस्तार गर्नका लागि नयाँ जहाज खरिदको विकल्प नभएको पनि समितिले जनाएको छ ।

खरिद ऐनको चटारोले जस्केलाबाट जहाज किन्ने प्रक्रिया अघि बढाउँदै पर्यटन मन्त्रालय