NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

अर्थमन्त्री महतले भने-सेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी छ

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् ।

‘विश्व लगानीकर्ता सप्ताह’ को आज यहाँ उद्घाटन गर्दै उनले लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिए ।

‘अहिले नियामकको केही माइक्रोम्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको देखिन्छ । यसबारे चाँडै कुनै निर्णय आउला भन्ने अपेक्षा गरेको छु’, अर्थमन्त्री महतले भने, ‘सेयर बजारलाई स्वस्थ बनाउन जरुरी छ । बेलाबेला भित्री कारोबार (इन्साइडर ट्रेडिङ) का कुरा पनि सुनिने गरेका छन् । यसलाई धितोपत्र बोर्डले निर्णायक हिसाबले नियमनको दायराभित्र ल्याउनुपर्छ ।’

उनले आम लगानीकर्ताको हित हुनेगरी नियामकीय भूमिका निर्वाह गर्न र पुँजी बजारबारे जानकारी तथा साक्षरता बढाउन पनि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जलगायत निकायलाई निर्देशन दिए ।

धितोपत्र दलाल लाइसेन्स दिएपछि पुँजीबजार प्रतिस्पर्धी बन्दै गएको र एकाधिकारको अवस्था अन्त्य भएको उहाँको भनाइ छ । यसलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि अर्थमन्त्री महतले बताए ।

सेयर बजारबारे निकै कम व्यक्तिलाई मात्र जानकारी रहेको र यस क्षेत्रमा लगानी गरेर कसरी प्रतिफल लिने भन्नेबारे धेरैलाई जानकारी नभएकाले वित्तीय तथा पुँजी बजारसम्बन्धी साक्षरता बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

सेयर बजारको उतारचढावका बेला निश्चित व्यक्तिले नाफा लिने र सर्वसाधारणले गुमाउने भएकाले पुँजीबजारको कारोबारबारे सर्वसाधारणलाई बढी जानकारी दिनुपर्ने आवश्यकता उनले औल्याए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपालमा वित्तीय साक्षारता निकै कम रहेको बताए । ‘नेपालमा वित्तीय साक्षारता २० प्रतिशतभन्दा कम छ । जुन क्षेत्रीयरुपमै न्यून हो ।

यसलाई बढाउनका लागि सबै निकाय र पक्षले भूमिका खेल्न जरुरी छ’, उनले भने, ‘लगानीका नयाँनयाँ औजार विकास भएका छन् भने सूचना प्रविधि क्षेत्रको क्रान्तिले नयाँ अवससँगै चुनौती पनि आएको छ । त्यसमा हामीले आफूलाई पनि तयार राख्नुपर्छ ।’

धितोपत्र बोर्डले आजदेखि लगानीकर्ता शिक्षा र गुनासो सुनुवाइका लागि आर्टिफिसियल इन्टेलिजेन्स मा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । लगानी सप्ताहका रुपमा एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाउने योजना रहेको छ ।