अर्थमन्त्री महतले भने-सेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी छ
ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् ।
‘विश्व लगानीकर्ता सप्ताह’ को आज यहाँ उद्घाटन गर्दै उनले लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिए ।
‘अहिले नियामकको केही माइक्रोम्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको देखिन्छ । यसबारे चाँडै कुनै निर्णय आउला भन्ने अपेक्षा गरेको छु’, अर्थमन्त्री महतले भने, ‘सेयर बजारलाई स्वस्थ बनाउन जरुरी छ । बेलाबेला भित्री कारोबार (इन्साइडर ट्रेडिङ) का कुरा पनि सुनिने गरेका छन् । यसलाई धितोपत्र बोर्डले निर्णायक हिसाबले नियमनको दायराभित्र ल्याउनुपर्छ ।’
उनले आम लगानीकर्ताको हित हुनेगरी नियामकीय भूमिका निर्वाह गर्न र पुँजी बजारबारे जानकारी तथा साक्षरता बढाउन पनि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जलगायत निकायलाई निर्देशन दिए ।
धितोपत्र दलाल लाइसेन्स दिएपछि पुँजीबजार प्रतिस्पर्धी बन्दै गएको र एकाधिकारको अवस्था अन्त्य भएको उहाँको भनाइ छ । यसलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि अर्थमन्त्री महतले बताए ।
सेयर बजारबारे निकै कम व्यक्तिलाई मात्र जानकारी रहेको र यस क्षेत्रमा लगानी गरेर कसरी प्रतिफल लिने भन्नेबारे धेरैलाई जानकारी नभएकाले वित्तीय तथा पुँजी बजारसम्बन्धी साक्षरता बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
सेयर बजारको उतारचढावका बेला निश्चित व्यक्तिले नाफा लिने र सर्वसाधारणले गुमाउने भएकाले पुँजीबजारको कारोबारबारे सर्वसाधारणलाई बढी जानकारी दिनुपर्ने आवश्यकता उनले औल्याए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपालमा वित्तीय साक्षारता निकै कम रहेको बताए । ‘नेपालमा वित्तीय साक्षारता २० प्रतिशतभन्दा कम छ । जुन क्षेत्रीयरुपमै न्यून हो ।
यसलाई बढाउनका लागि सबै निकाय र पक्षले भूमिका खेल्न जरुरी छ’, उनले भने, ‘लगानीका नयाँनयाँ औजार विकास भएका छन् भने सूचना प्रविधि क्षेत्रको क्रान्तिले नयाँ अवससँगै चुनौती पनि आएको छ । त्यसमा हामीले आफूलाई पनि तयार राख्नुपर्छ ।’
धितोपत्र बोर्डले आजदेखि लगानीकर्ता शिक्षा र गुनासो सुनुवाइका लागि आर्टिफिसियल इन्टेलिजेन्स मा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । लगानी सप्ताहका रुपमा एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाउने योजना रहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया