NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रदेश अधिवेशनबाट विजयी एमाले नेतालाई ओलीले दिएनन् बधाई !

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन् । सामाजिक सञ्जालमा आफ्ना कुरा पोष्ट गर्न मात्र होइन, टिकटक लगायतका भिडियो हेरेर मनोरञ्जन समेत लिन्छन् । कतिपय भाषणका क्रममा उनले टिकटक हेर्ने गरेको उल्लेख पनि गरेका छन् ।

उसो त, उनी टिकटकको दुनियाँमा रमाउँछन् भन्ने कुरा उनले पोष्ट गर्ने सामाग्रीबाटै पनि पुष्टि हुन्छ । आजै मात्र उनले फेसबुकमार्फत चर्चित टिकटकर आयुषसिंह ठकुरी र अलिजेह जमालीलाई ‘इन्गेजमेन्ट’ बधाई दिएका छन् । उक्त पोष्टमा ओलीले उनीहरुको टिकटक यदाकदा आफूले पनि हेर्ने गरेको उल्लेख गरेका छन् ।

त्यस्तै दुई दिन अगाडि उनले क्याप्टेन विजय लामाको एक भिडियो शेयर गर्दै लेखेका छन्, ‘क्याप्टेन विजय लामा राम्रो पाइलट हुनुहुन्छ, सञ्चारकर्मी र कलाकार पनि हुनुहुन्छ। उहाँको हेरिरहुँ जस्तो लाग्ने यो नाच गजब छ। जिन्दगी सप्तरंगी छ, इन्द्रेणीजस्तै । गम्भीर हुनु मात्र जीवन होइन, जीवनका सातै रंगसँग हाँस्न र नाच्न सिकौं। समाजमा पनि भिन्न जाति, धर्म र समुदायबीच परस्पर बेमेल होइन, सहकार्य र सद्भावले समाज इन्द्रेणी जस्तै सुन्दर बन्छ। शुभरात्री !’ उनले उक्त भिडियो स्रोत टिकटक उल्लेख गर्दै रिना थापा मगरको अकाउन्टबाट साभार गरेको लेखेका छन् ।

यी दुई उदाहरण मात्र हुन् । अध्यक्ष केपी शर्मा ओली सबै क्षेत्रको ज्ञान राख्छन् र मन परेका भिडियो, पोष्टहरु शेयर गर्छन् भन्ने सबैलाई विदित नै छ । तर, अचम्म मान्नुपर्ने कुरा के हो भने अहिले धमाधम भइरहेको एमाले प्रदेश अधिवेशनका बारेमा भने केपी ओली सामाजिक सञ्जालमा किन चुप छन् ? हालै सम्पन्न गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश अधिवेशनकाबारेमा पार्टीको तर्फबाट विचार राख्नु त परैको कुरा, निर्वाचित पदाधिकारीहरुलाई उनले बधाई समेत दिएको देखिँदैन ।

अन्य विषयमा सामाजिक सञ्जालमा लेख्न भ्याउने ओलीले प्रदेश पदाधिकारीलाई बधाई समेत किन दिएनन् भन्ने कुरा उनकै पोष्टमा कमेन्ट गर्नेहरुले पनि उठाएका छन् । उनको यो व्यवहारबाट प्रदेश अधिवेशनबाट छानिएका नेतृत्व उनलाई चित्त नबुझेको हो त ? भन्ने प्रश्न खडा भएको छ ।

हालै सम्पन्न नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । त्यस्तै कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् भने बागमती प्रदेश कमिटीको अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका हुन् ।

आयुष र अलिजेहलाई बधाई दिँदै ओलीले भने ‘मायाले जाति, धर्म, सम्प्रदायमा समानता खोज्न सिकाउँछ’

ताजा अपडेट

नेपालवाच विशेष