NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रातभर के-के भए ? इजरायली संगीत महोत्सव स्थलमा २६० शव फेला, विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया पराजित

काठमाडौं । आइतबार दिनभर देश विदेशका खबरहरुले नेपाली मिडियामा निकै स्थान पाए । रातको समयमा देश विदेशमा केके भए त ? अर्थात् छुटेका खबरहरुलाई हामीले यहाँ समेटेका छौँ ।

हमासको आक्रमणपछि इजरायलको म्युजिक फेस्टिभल स्थलमा कम्तीमा २६० शव फेला
इजरायली उद्धार सेवा जाकाका अनुसार शनिबार हमासले गरेको आक्रमणपछि इजरायली संगीत महोत्सवको स्थलमा कम्तीमा २६० शव फेला परेको छ।

गाजा-इजरायल सीमा नजिकैको ग्रामीण खेतबारी क्षेत्रमा भएको उत्सवमा हमास बन्दुकधारीहरूले उपस्थितहरूलाई गोली हानेको र कतिपयलाई बन्धक बनाएको सीएनएनले उल्लेख गरेको छ ।

इरानका राष्ट्रपतिले गरे हमास नेतासँग कुराकानी
इजराइलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग आइतबार कुराकानी गर्नुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

“राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल–नखालाह र हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माील हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गर्नुभएको छ”, थप विवरण केही उल्लेख नगरी सरकारी समाचार समिति इर्नाले भनेको छ ।

गाजापट्टीलाई नियन्त्रण गरेको हमासका लडाकुहरूले शनिबार बिहानै इजराइलमा व्यापक रकेट हमला गर्दै घुसपैठ गरेका थिए । इजराइल सरकारले दशकयताकै भएको सबैभन्दा खराब लडाइँमा छ सयभन्दा बढी इजराइली मारिएको र हमासले एक सयभन्दा बढीलाई बन्धक बनाएको बताएको छ । गाजामा पनि कम्तीमा तीन सय १३ मारिएको समाचार छ ।

विश्वकप क्रिकेट : भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित
आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो ।

भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो । भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । भारतका लागि केएल राहुलले अविजित ९७ रन बनाए । उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने । यस्तै विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्दतमा ८५ रन बनाए । हार्दिक पण्ड्याले अविजित ११ रन बनाए । भारतले सुरुआतमै तीन विकेट गुमाएको थियो । भारतीय कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस अय्यर रन नबनाइकन आउट भएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका जोश हाजेल्वुडले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ७१ बलमा पाँच चौका प्रहार गरे । यस्तै डेविड वार्नरले ५२ बलमा छ चौकासहित ४१, कप्तान प्याट कमिन्सले २४ बलमा एक चौका र एक छक्कासहित १५ तथा मिचेल स्टार्कले ३५ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुईरदुई तथा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए ।

कार्ड नहुँदा रोकियो चालक अनुमतिपत्र छपाइ
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ ।

अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।