NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोशीमा कांग्रेसले मुख्यमन्त्री नछाड्ने, देउवा सहमतीमा अडिग

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ ।

मंगलबार बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा गठबन्धनमा भएको सहमतिबमोजिममा अडिग देखिएका हुन् । गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति छ ।

विश्वकर्माले सरकार बन्ने वातावरण बनेको अवस्थामा पछि हट्ने कुरा नभएको बताउँदै त्यसकालागि लचिलो भएर संवादको वातावरण बनाउने तयारी गरिएको बताए ।

कोशीमा सरकार निर्माणका लागि देउवाले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने र उक्त छलफलपछि आज-भोलि नै गठबन्धनको बैठक बस्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत पाउन सकेनन् ।

पहिलो पटक सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरेका थापाले दोस्रो पटक विश्वासको मत लिँदा प्रदेश सभाध्यक्षलाई पनि मतदान गर्न लगाएका थिए । उनका यी कदमलाई सर्वोच्चले असंवैधानिक भनेको थियो ।

त्यसपछि संविधानको उपधारा ३ अनुसार एमालेका हिक्मत कार्की मुख्यमन्त्री बने । उनले विश्वासको मत नपाउने देखिएपछि असोज २० मा राजीनामा दिए । थापा अगाडी मुख्यमन्त्री बनेका कार्कीले पनि विश्वासको मत पाएका थिएनन् ।

उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ ९५० बमोजिम मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आव्हान गरेका छन् । त्यसकालागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ ।