NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ललितपुरस्थित एनजिओको ६ रोपनी जग्गा बेचेर सदस्य फरार

काठमाडौं । काठमाडौंमा दर्ता रहेको एक गैरसरकारी संस्था (एनजिओ) को ललितपुरमा रहेको ६ रोपनी ५ आना जग्गा बिक्रीबापतको रकम संस्थामा नबुझाइ एक सञ्चालक समिति सदस्य सम्पर्कविहीन भएका छन् ।

बालबालिकाको हक/हित गर्ने लक्ष्य राखेर स्थापना गरिएको हेल्प फर चिल्ड्रेन, वाइलेनग्रिसको लुभुमा रहेको जग्गा सो संस्थाका कार्य समिति सदस्य हरि गोविन्द श्रेष्ठले बिक्री गरेका हुन् ।

संस्थाको नाममा मालपोत कार्यालय, ललितपुरमा दर्ता रहेको ६ रोपनी ५ आना जग्गा बिक्री गरेर त्यसको रकम नबुझाइ श्रेष्ठ सम्पर्कविहीन भएको हेल्प फर चिल्ड्रेन बाइलेनग्रिसले जनाएको छ ।

संस्थाका अनुसार, श्रेष्ठले दुई वर्षअघि हेल्प फरको जग्गा बिक्री गर्ने अख्तियारी पाएका थिए । अख्तियारीअनुसार जग्गा बिक्री गरेका श्रेष्ठले रकम दाखिला नगरेपछि गत साउन २२ गतेको कार्यसमिति बैठकमै बोलाएर जानकारी मागिएको थियो । बैठकमा उनले जग्गा बिक्रीबापत रकम लिएको स्वीकार गर्दै छिट्टै हिसाब राफसाफ गर्ने प्रतिबद्धता जनाएका थिए । तर अहिलेसम्म संस्थाको जग्गा बिक्री गरेर लिएको रकम फिर्ता गरेका छैनन् ।

यसरी पाएका थिए श्रेष्ठले बिक्री अनुमति 

काठमाडौंमा दर्ता भएको हेल्प फर चिल्ड्रेनले ललितपुरमा ७ रोपनी १ आना १ दाम जग्गा खरिद गरेको थियो । पछि काठमाडौंमा दर्ता संस्थालाई त्यही जग्गामा भवन बनाएर सारियो ।

उपत्यकाभित्र संस्थाको नाममा कुस्ता जग्गा जोडेको हेल्प पर चिल्ड्रेनको ०७८ असोज ७ गते बसेको बैठकले कित्ता नं. २४२२ को ३६५४ वर्ग मिटर जग्गामध्ये १२ आना १ पैसा जग्गा बाँकी राखेर बाँकी ६ रोपनी ५ आना बिक्री गर्ने निर्णय गरेको थियो । जग्गा बिक्री गर्ने अख्तियारीचाहिँ श्रेष्ठलाई दिइएको थियो । जग्गा बिक्रीको अख्तियारी पाउने श्रेष्ठ महालक्ष्मी नगरपालिका–८, लुभुका हुन् । संस्थाको जग्गा बिक्री गरेर रकमसमेत आफैं बुझ्ने अख्तियारी श्रेष्ठलाई दिइनु रहस्यमय बनेको छ ।

संस्थाको सञ्चालक समितिकै बैठकबाट जग्गा बिक्रीका लागि अख्तियारी पाएपछि यसमा जुटेका श्रेष्ठ वर्ल्ड डेभलपर एण्ड हाउजिङ प्रालिलाई जग्गा बिक्री गर्न सफल भए । वर्ल्ड डेभलपरले जग्गा खरिदपछि रकम श्रेष्ठले नै बुझेको हेल्प फर चिल्ड्रेनको भनाइ छ ।

हेल्प फर चिल्ड्रेनका अनुसार, जग्गा बिक्रीबापतको रकम संस्थाको खातामा जम्मा नभएपछि श्रेष्ठलाई ०८० असार मसान्तसम्म रकम दाखिला गर्न समय दिइएको थियो । निर्धारित समयमा श्रेष्ठले रकम जम्मा नगरेपछि गत साउन २२ गते यसबारे छलफल गर्न बैठक आह्वान गरिएको थियो । लामो समयदेखि रकम दाखिला गर्न आलटाल गरेका श्रेष्ठले बैठक फेस गरेर तत्काल उक्त रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यसको दुई महिना गुज्रिसक्दासमेत श्रेष्ठले जग्गा बिक्री गरेको रकम दाखिला नगरेको संस्थाले जनाएको छ । जग्गा कति मूल्यमा बिक्री गरिएको हो भन्ने विषयचाहिँ हेल्प फर चिल्ड्रेनले गोप्य राखेको छ ।

पटक–पटक ताकेता गर्दा पनि रकम दाखिला नगरेपछि कानूनी प्रक्रिया अघि बढाउने तयारी संस्थाले गरेको छ । श्रेष्ठलाई रकम दाखिला गर्न अन्तिम पटक आगामी कात्तिक १ गतेसम्मको समय दिइएको र उक्त अवधिसम्म पनि अटेरी गरे कानूनी उपचारमा जाने संस्थाले जनाएको छ ।

सञ्चालक समिति निर्णय सन्देहात्मक 

सामान्यतया कुनै पनि संस्थाको जग्गालगायत अचल सम्पत्तिको बिक्री संस्थागत संलग्नतामै हुन्छ । कारोबारको प्रबन्ध मिलाउने अख्तियारी व्यक्तिलाई दिन सकिने भए पनि आर्थिक कारोबार नै गर्न दिन भने मिल्दैन ।

हेल्प फर चिल्ड्रेनले जग्गा बिक्रीसँगै कारोबारको समेत अख्तियारी एक जना सञ्चालक समिति सदस्यलाई मात्र किन दियो भन्ने रहस्यको विषय बनेको छ ।