NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रिगलविरुद्धको मुद्दामा प्रधानन्यायाधीशसहितको इजलासको ‘रिक्युजल’, अर्को पेसी कात्तिक १४ मा

काठमाडौं । गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ढकालविरुद्धको मुद्दाको रिक्युजलको घोषणा गरेपछि अब नयाँ न्यायाधीशको इजलासमा सुरुबाटै सुनवाइ हुने छ ।

प्रधानन्यायाधीश श्रेष्ठले आफूले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेको भन्दै उनले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् ।

आज प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनवाइ सुरु भएको थियो ।

रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यस्तै मुद्दामा आफूले फैसला गरिसकेकै कारण यो मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनी इजलासलाई जानकारी गराएका थिए ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीले पनि आफूहरुले समेत यस्तै प्रकृतिको मुद्दा हेरिसकेको कारण अन्य न्यायाधीशको इजलासबाट सुनुवाइ हुनु उत्तम हुने भन्दै रिक्युजलको घोषणा गरेका थिए ।

रिगलले माफी पाएपछि हत्या भएका चेतन मानन्धरकी पत्निले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तीन जना न्यायाधीशको पूर्ण इजलासमा पेसी तोकी सुनुवाइ गर्न भनेको थियो ।

रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय मानन्धरको खुँडा प्रहार गरी हत्या गरेको थियो ।

मानन्धर हत्याको १ महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए ।