रिगलविरुद्धको मुद्दामा प्रधानन्यायाधीशसहितको इजलासको ‘रिक्युजल’, अर्को पेसी कात्तिक १४ मा
काठमाडौं । गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ढकालविरुद्धको मुद्दाको रिक्युजलको घोषणा गरेपछि अब नयाँ न्यायाधीशको इजलासमा सुरुबाटै सुनवाइ हुने छ ।
प्रधानन्यायाधीश श्रेष्ठले आफूले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेको भन्दै उनले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् ।
आज प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनवाइ सुरु भएको थियो ।
रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यस्तै मुद्दामा आफूले फैसला गरिसकेकै कारण यो मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनी इजलासलाई जानकारी गराएका थिए ।
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीले पनि आफूहरुले समेत यस्तै प्रकृतिको मुद्दा हेरिसकेको कारण अन्य न्यायाधीशको इजलासबाट सुनुवाइ हुनु उत्तम हुने भन्दै रिक्युजलको घोषणा गरेका थिए ।
रिगलले माफी पाएपछि हत्या भएका चेतन मानन्धरकी पत्निले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तीन जना न्यायाधीशको पूर्ण इजलासमा पेसी तोकी सुनुवाइ गर्न भनेको थियो ।
रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय मानन्धरको खुँडा प्रहार गरी हत्या गरेको थियो ।
मानन्धर हत्याको १ महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया