एक्सले हटायो हमास सम्बद्ध सयौँ खाता, रातभर अन्य के-के भए ?

फ्रान्समा विद्यालय परिसरमा छुरा प्रहार, एक शिक्षकको हत्या, अन्य दुई घाइते
उत्तरपूर्वी फ्रान्सको अरास शहरमा रहेको एक विद्यालयमा शुक्रबार भएको छुरा आक्रमणमा परी एक शिक्षकको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएको प्रहरी तथा क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।
आक्रमणकारी रूसको मुस्लिम बहुल दक्षिणी काकेशस क्षेत्र चेचन्याका रहेको र उनी सम्भावित सुरक्षा खतराका रूपमा फ्रान्सको राष्ट्रिय निगरानी सूचीमा पहिल्यै देखि नै थिए ।
घाइते हुनेमा एक सुरक्षाकर्मी र कम गम्भीर अवस्थामा रहेका एक शिक्षक रहेको स्रोतले जनाएको छ ।विद्यालयका कुनै पनि विद्यार्थी घाइते नभएको प्रहरी स्रोतले जनाएको छ ।
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो
इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजिक सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन” भन्दै उसले खाता बन्द गरेको हो ।
“एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुनसक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्वलाई एक्सले बुझेको छ”, एक्सका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भने, “आतङ्कवादी सङ्गठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौँ ।”
युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ इयु अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएका थिए । ब्रेटोनले युरोपेली युनियनभित्र अवैध सामग्री र दुष्प्रचारमा एक्सको कथित प्रयोगप्रति चिन्ता व्यक्त गरेका थिए ।
भारतको पश्चिम बङ्गालमा कोइला खानी भत्किँदा तीन जनाको मृत्यु, कैयौँ फसेको आशङ्का
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा रहेको कोइला खानी भत्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ फसेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बेपत्ताको सङ्ख्या करिब १० जना रहेको छ ।
पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब १९७ किलोमिटर उत्तरपश्चिममा पर्ने पश्चिम बर्धमान जिल्लाको रानीगञ्ज क्षेत्रमा रहेको नारायणकुरी कोलियरीभित्र कोइला उत्खननको काम गरिरहेका बेला बुधबार दिउँसो कोइला खानी भत्किएको हो ।
“कोइला खानी भत्किँदा तीन जनाको मृत्यु भएको छ र उनीहरू स्थानीय बासिन्दा रहेको पहिचान भएको छ,” एक प्रहरी अधिकारीले भने ।
उनले भने, “अरू धेरै हराइरहेका हामीलाई जानकारी प्राप्त भएको छ । उनीहरूभित्र फसेको आशङ्का गरिएको छ ।”
फसेका कामदारको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया