NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

व्यक्तिका नाममा जानबाट जोगियो प्रहरीको १२ रोपनी जग्गा

काठमाडौं । प्रहरीले २० वर्षअघि तालिम प्रतिष्ठानका लागि खरिद गरेको काभ्रेको पनौती नगरपालिका– ११ स्थित १२ रोपनी आठ आना दुई पैसा तीन दाम जग्गा व्यक्तिको नाममा जानबाट जोगिएको छ । उक्त जग्गा विवादसम्बन्धी मुद्दामा जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चले उल्ट्याइदिएपछि प्रहरीकै रहने भएको हो ।

सर्वाेच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको इजलासले लिखत बदर र जालसाजी मुद्दामा फैसला सुनाएको हो । योसँग नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानले दायर गरेको मुद्दामा पुरानो फैसला उल्टी भएको छ । ९ असोजमा आएको फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।

सो जग्गा प्रहरीले १० फागुन ०६० मा स्थानीय यदुप्रसाद सापकोटा, गोविन्दप्रसाद सापकोटा र प्रेमप्रसाद सापकोटासँग खरिद गरेको थियो, जहाँ हाल भारत सरकारको अनुदान सहयोगमा प्रहरी प्रतिष्ठानका लागि आधुनिक तालिम प्रतिष्ठान निर्माण भइरहेको छ । उनीहरूका सन्तानले आफूहरूलाई अंश नदिई जग्गा बिक्री गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकोमा काभ्रे जिल्ला अदालत र पाटन उच्च अदालतले उनीहरूकै पक्षमा फैसला गरिदिएको थियो । त्यसविरुद्ध प्रहरी सर्वाेच्च गएकोमा प्रहरीकै पक्षमा फैसला आएको हो ।

जग्गा बिक्री गरेको पाँच वर्षपछि उनीहरूले जिल्ला अदालत काभ्रेमा प्रहरी प्रतिष्ठान र आफ्ना बुबालाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए । जसमा जिल्ला अदालत काभ्रेका तत्कालीन न्यायाधीश लेखनाथ रेग्मीले २३ मंसिर ०६६ मा उनीहरूकै पक्षमा फैसला गरेका थिए । पछि उच्चले पनि २१ भदौ ०६८ मा प्रहरीको विपक्षमा फैसला दिएको थियो । उच्च अदालत पाटनका तत्कालीन न्यायाधीशद्वय दीपककुमार कार्की तथा रामचन्द्र यादवको इजलासले यस्तो फैसला गरेको हो । प्रहरीले ८ कात्तिक ०७३ मा सर्वाेच्चमा पुनरावेदन गरेको थियो । जसमा सात वर्षपछि फैसला आएको हो ।

जालसाजी मुद्दाका प्रतिवादीहरू सन्तोष सापकोटा, संघर्ष सापकोटा, सहदेव सापकोटा, सुभद्रा सापकोटा, केदार सापकोटा, रीताकुमारी सापकोटा र महेश्वर सापकोटालाई सजायसमेत हुने भएको छ । पूर्णपाठ नआएकाले त्यसबारे विस्तृत खुलाइएको छैन, नयाँ पत्रिका दैनिकमा खबर छ ।