NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भारी बहुमतसहित कार्की मुख्यमन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशमा केदार कार्की भारी मतसहित मुख्यमन्त्री नियुक्त भएका छन् ।

संविधानको धारा १३८ को उपधारा ५ अनुसार उनी आज मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीले प्रदेश सभाको ९३ मध्ये ८६ मत प्राप्त गरे ।

कांग्रेसबाट २९, एमालेबाट ३९, माओवादी केन्द्रबाट १३, एकीकृत समाजवादीबाट ४ र जनता समाजवादीबाट १ मत पाएका मुख्यमन्त्री कार्कीलाई राप्रपाका पाँच सांसदले विपक्षमा मत दिए । राप्रपाका अर्का एकजना अनुपस्थित थिए ।

विश्वासको मतको प्रस्ताव पेश गर्दा छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निर्माण गर्दा संविधानको सबै धारा प्रयोग भइ अहिलेको अवस्थामा आएको बताए । मिलेर काम गर्न तथा सङ्घीयतालाई बलियो बनाउन अहिलेको विकल्प नै उत्तम भएको बताउँदै उनले सहमति, सहकार्य र एकताको संस्कृतिलाई बचाउन नै आफ्नो पार्टीले विश्वासको मत दिने स्पष्ट पारे।

कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा, एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, माओवादी केन्द्र संसदीय दलकातर्फबाट दुर्गा चापागाईं राजनीतिक स्थिरता र विकासका लागि यो सरकारलाई विश्वासको मत दिने बताएका थिए ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो पार्टी विश्वासको मतको विपक्षमा रहने बताए । उनले सरकारको राम्रा कामका समर्थन र नराम्रो कामको आलोचनासहित जनतामाझमा जाने प्रतिक्रिया दिए ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले सुशासन र समृद्धिलाई सँगसँगै लैजान विश्वासको मतको कदर गर्ने बताए । उनले प्रदेशलाई विकासमा नमुना बनाउन विश्वासको मतलाई विश्वासघात नगर्ने विश्वास दिलाए ।

अर्को सूचना जारी नभएसम्म प्रदेश सभाको बैठक स्थगन भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिए ।