९ दिनदेखि प्रहरी हिरासतमा छन् नेकपा नेता धर्मेन्द्र बाँस्तोला, अझै कति दिन रहलान ?

काठमाडौं । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा रहेका छन् ।
उनी नौ दिनदेखि प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । कात्तिक २ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।
लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बाँस्तोलाको गाडीले ठक्कर दिएको रा ६ प ५७३८ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ का चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो ।
उनलाई स्वास्थ्य चौकी सिसहनियाँमा पुर्याएको थियो । तर त्यसको केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा राखिएकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
बाँस्तोला अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने छ । दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्र अदालती प्रक्रियाको काम सुरु हुने प्रहरीले जनाएको छ ।
दसैंको समयमा आफैं गाडी चलाउँदै सुर्खेतस्थित घर तर्फ जान हिडेका नेता बाँस्तोला दुर्घटनाका कारण प्रहरी हिरासतमा बस्नु परेको हो ।
प्रतिक्रिया