NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

४ लाख ३४ हजार विद्यार्थीको खाजा खोसियो

काठमाडौं । कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका बालबालिका साउनयता खाजाबाट वञ्चित भएका छन् । अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराउँदा करिब ४ लाख ३४ हजार विद्यार्थीको दिवा खाजा खोसिएको हो । अर्थ मन्त्रालयले कक्षा ५ सम्म अध्ययनरत बालबालिकालाई मात्र खाजा खान पुग्ने गरी बजेट उपलब्ध गराएका कारण कक्षा ६ का विद्यार्थीलाई साउनयता खाजा खुवाउन नसकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

गत वर्षकै खाजाको बजेट निकासा गर्न अर्थ मन्त्रालयले रोक लगाएको थियो । यसपालि कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाउने हो कि होइन भनेर शिक्षा मन्त्रालयले अर्थलाई गत साउनमै पत्राचार गरेको थियो ।

अर्थले पत्रको कुनै जवाफ दिएको छैन । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बजेट अभावले ६ कक्षाका विद्यार्थीलाई खाजा खुवाउने कार्यक्रम रोकिएको जनाए । ‘कक्षा ५ सम्मकालाई मात्रै दिवा खाजा खुवाउन पुग्ने बजेट प्राप्त भएको छ,’ उनले भने, ‘रकम थप भएमात्र कक्षा ६ का विद्यार्थीलाई खाजा दिन सकिन्छ ।’

०७९र८० देखि सरकारले दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार गर्ने घोषणा गरेको थियो । तर त्यतिबेला नै स्थानीय तहमा बजेट पठाउँदा ५ सम्मका ३० लाख ३६ हजार विद्यार्थीलाई मात्र पुग्ने रकम विनियोजन गरिएको थियो । गत वर्ष नै १ अर्ब १५ करोड रकम दिवा खाजाका लागि अपुग भएको शिक्षा मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा सबै बालबालिकालाई पुग्ने गरी दिवा खाजा शीर्षकमा बजेट विनियोजन नभएको शिक्षा मन्त्रालयको योजना महाशाखाले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बजेट वक्तव्यबाट विनियोजन गरिएको भन्दा दिवा खाजा कार्यक्रममा थप रकम निकासा गर्न सक्ने अवस्था नरहेको जनाए ।

‘छुट्याएको बजेट जति विद्यार्थीलाई खाजा पुग्छ, त्यतिलाई नै दिने हो,’ उनले भने, ‘कति कक्षासम्म खुवाउने कार्यक्रममा तोकिएको छैन । उक्त कार्यक्रमलाई ८ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष ८ अर्ब २७ करोड ८६ लाख मात्रै बजेट विनियोजन भएको थियो ।’
नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले कक्षा ६ सम्मका विद्यार्थीलाई पुग्ने गरी केन्द्र सरकारले बजेट नपठाएको बताए । ‘नीति तथा कार्यक्रममा दिवा खाजा माथिल्लो कक्षामा विस्तार गर्ने भनेर नारा मात्रै दिएको छ ।

स्थानीय तहमा कार्यक्रम मात्रै पठाएको छ, बजेट छैन,’ उनले भने । केन्द्र सरकारको नीति र कार्यक्रमकै कारण बालबालिकाले खाजा खान नपाएको उनले जनाए । केन्द्रबाट बजेट प्राप्त नभए पनि कुनै कुनै स्थानीय तहले आफ्नै स्रोतसाधनले कक्षा ५ भन्दा माथिल्लो कक्षाका बालबालिकालाई पनि दिवा खाजा दिने गरेको उनको भनाइ छ ।

दिवा खाजाका लागि साविक कर्णाली अञ्चलका विद्यार्थीलाई दैनिक २० रुपैयाँ र त्यसबाहेकका जिल्लामा १५ रुपैयाँका दरले रकम उपलब्ध गराइन्छ । शैक्षिक सत्रभर १ सय ८० दिनका लागि खाजा खुवाउन रकम उपलब्ध हुन्छ  । यस हिसाबले कर्णालीका प्रत्येक विद्यार्थीले वार्षिक ३ हजार ६ सय र अन्य जिल्लाका विद्यार्थीले २ हजार ७ सयका दरले रकम पाउने व्यवस्था छ । स्थानीय तहले उपलब्ध गराएको बजेटबाट विद्यालयले खाजा खुवाउने गर्छन् ।

स्थानीय तह र विद्यालयले सरकारले दिँदै आएको १५ रुपैयाँले खाजा खुवाउन अपुग हुने भन्दै प्रतिविद्यार्थी रकम बढाउन आग्रह गर्दै आएका छन् । काठमाडौं महानगरपालिकालगायत कतिपय स्थानीय तहले आन्तरिक स्रोतबाट १५ रुपैयाँमा बजेट थप गरेर खाजा वितरण गर्दै आएका छन् । काठमाडौं महानगरले कक्षा ५ सम्म १५ रुपैयाँ थप गरेर खाजा वितरण गर्दै आएको छ भने कक्षा १० सम्म प्रतिदिन ३० रुपैयाँको दरले खाजा खुवाउँदै आएको छ ।

बालबालिकालाई दिउँसो विद्यालयमा खाजा खुवाउँदा टिकाउ र सिकाइ दरमा सुधार आएको विभिन्न सरकारी अध्ययनले देखाएको छ ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्षको नीति तथा कार्यक्रममा दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म पुर्‍याउने घोषणा गरेकी थिइन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ८ सम्म क्रमशः खाजा वितरण गर्ने भन्दै बजेटमा कक्षा ६ सम्म खाजा खुवाइने कार्यक्रम घोषणा गरेका थिए ।

बजेटको त्यही कार्यक्रमअनुसार शिक्षा मन्त्रालयले कार्यक्रम कार्यान्वयन पुस्तिकामा गत वर्षको साउनदेखि नै कक्षा ६ सम्म खाजा खुवाउने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममा र अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा दिवा खाजा विस्तार गर्ने भने पनि ५ सम्मका विद्यार्थीलाई मात्रै पुग्ने बजेट छुट्याइएको छ ।

कक्षा ६ सम्म यसपालि ३२ लाख २२ हजार विद्यार्थी भर्ना भएका छन् । आधारभूत तह (कक्षा ८) सम्म विस्तार गर्ने लक्ष्य लिएको दिवा खाजा बजेटमा कार्यक्रम भए पनि पर्याप्त बजेट नहुँदा कक्षा ६ का बालबालिकाको खाजा खोसिएको कर्मचारीहरूले बताए ।
यो समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।