NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नक्कली भुटानी शरणार्थी प्रकरण : फेरियो बिचौलियाको बयान, अनुसन्धान प्रभावित भएको आशंका

काठमाडौं । गृह मन्त्रालयकै संलग्नतामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको संगठित ठगी घटनामा प्रहरीले गुपचुप दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । पहिलो चरणको अनुसन्धान सकिएपछि परेका जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान थालेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

परिसरले पुर्पक्षका लागि थुनामा रहेका बिचौलियाहरूलाई झिकाएर बयान गर्न थालेको छ । यति संवेदनशील अपराधमा प्रहरीले गुपचुप रूपमा अनुसन्धान सकाएर मुद्दा बुझाउने तयारी गरेपछि निष्पक्षताका साथ अनुसन्धान हुनेमा आशंका बढेको छ ।

काठमाडौं परिसरले यसै साता सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मालगायतको बयान सुरु गरेको छ । साउनको अन्तिम साता १८ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो ।

किटानी जाहेरीमा नाम उल्लेख गरिएका बिचौलियाले नै सर्वसाधारणसँग पैसा उठाएर गृह मन्त्रालयका अधिकारीलगायत उच्चपदस्थलाई आर्थिक प्रभावमा पारी आफूअनुकूल काम गराउने प्रयास गरेका थिए । पहिलो चरणको अनुसन्धानमा उनीहरूले यो कुरा बयानमा मात्र बताएनन्, त्यसको प्रमाणसमेत दिएका थिए । तर, यसपटक उनीहरूको बयान फेरिएको छ । यसपटकको बयानमा उनीहरूले उच्चपदस्थहरूको नाम लिएका छैनन् । साथै, बयान पनि इन्कारी दिएका छन् । जसकारण अनुसन्धान प्रभावित भएको पीडितहरूको आशंका छ ।

यसअघि उनीहरूकै बयानका आधारमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका उच्चपदस्थ पक्राउ परेका थिए । हाल उनीहरू पनि पुर्पक्षका लागि जेलमा छन् । तर, दोस्रो चरणमा उच्चपदस्थहरूमाथिको अनुसन्धानमा प्रहरीले पनि चासो राखेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान गराएको स्रोत बताउँछ । निकै गोप्य रूपमा प्रहरीले उनीहरूको बयान गरेको छ ।

यसअघि संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो । अहिले सामान्य ठगी मात्र चलाउनुपर्ने दबाब प्रहरीमाथि परेको छ । दोस्रो चरणको अनुसन्धानबारे जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायत भने दोस्रो चरणमा पनि प्रहरीले सूक्ष्म रूपमै अनुसन्धान गरिरहेको दाबी गरे । ‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारी फेरिँदैमा कुनै असर पर्दैन,’ उनले भने, ‘दोस्रो चरणमा पनि विस्तृतमै अनुसन्धान भइरहेको छ ।’

यसअघि अनुसन्धान प्रभावित गर्ने उद्देश्यले नै सरकारले काठमाडौंका उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई हटाएको थियो । हाल अनुकूल प्रहरी अधिकृत खटाएर गुमचुपमा दोस्रो चरणको अनुसन्धान सकाएर अदालतमा मुद्दा लैजाने तयारी छ । ‘केही बिचौलिया मात्र दोस्रो चरणको अनुसन्धानमा तानिने सम्भावना छ,’ प्रहरी स्रोतले भन्यो, ‘सेटिङकै आधारमा अनुसन्धान चलिरहेको छ ।’

पहिलो चरणमा दायर भएको मुद्दालाई पनि प्रभावित पार्ने गरी दोस्रो चरणको अनुसन्धान भइरहेको स्रोत बताउँछ । ‘थुनामा रहेका आरोपीहरू उच्च अदालतबाट छुट्ने प्रयासमा छन्,’ स्रोत भन्छ, ‘त्यसका लागि उच्चपदस्थलाई जोगाएर दोस्रो चरणको अनुसन्धानमा बयान फेराइएको छ ।’ कारागार स्रोतका अनुसार बिचौलियाहरू केशव दुलाल र सानु भण्डारीसँग जेलमा रहेका उच्चपदस्थहरूले सहयोगीमार्फत बयानअघि कुराकानी गरेका थिए ।

थुनामा रहेका पूर्वमन्त्रीहरू खाण र रायमाझीसहित १६ जना हाल थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । गत २५ असोजमा उच्च अदालतले सो मुद्दामा लगाउको आदेश दिएको थियो ।

पूर्वमन्त्रीद्वय खाण र रायमाझीका साथै पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । ३० जनालाई प्रतिवादी बनाइएकोमा अन्य ११ जना अझै फरार छन् । मुद्दा दायर भएको पाँच महिनासम्म पनि १२ मध्ये एकजना पनि पक्राउ परेका छैनन् । जसमा प्रतीक थापा, अशोक पोखरेल, धीरेन राई, नीरज राई, दीपा हुमागाईं, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, निरञ्जनकुमार खरेल, सुनील बुढाथोकी छन् । उनीहरूमध्ये प्रतीक, नीरज र अशोक मुख्य व्यक्ति हुन् । उनीहरू अनुसन्धान सुरु भएलगत्तै विदेश भागेका थिए ।

गृह मन्त्रालयमा प्रतिवेदन नै नक्कली बनाएकोलगायतका प्रमाणलाई आधार बनाई उनीहरूलाई थुनामा पठाइएको थियो । शरणार्थी समस्या समाधानका लागि बनेको अध्ययन प्रतिवेदन नै किर्ते गरी नेपालीको नाम राखेर अमेरिका लैजाने प्रयास भएको थियो । बालकृष्ण खाण गृहमन्त्री र टेकनारायण पाण्डे गृहसचिव हुँदा यस्तो किर्ते भएको प्रहरीको दाबी छ ।

रामबहादुर थापा र बालकृष्ण खाण गृहमन्त्री हुँदा बिचौलियाहरूले सिंगो मन्त्रालयलाई नै आफ्नो प्रभावमा पारेर नेपालीलाई भुटानी शरणार्थीको सूचीमा राखेर अमेरिका लैजाने प्रयास गरेका थिए । त्यसका लागि सुरुमा दर्तामा छुटेका शरणार्थीको विषयमा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा समिति बनाइएको थियो ।

सोही समितिको प्रतिवेदनमा नेपालीको नाम थपेर करोडौँ उठाइएको थियो । जुन पैसा गृह मन्त्रालयका अधिकारीलाई बुझाएर आफ्नै नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजान पटक–पटक प्रयास भयो । तर, पाँच वर्षसम्म पनि सफल नभएपछि पीडितहरूले उजुरी गर्न थालेका थिए । खाण गृहमन्त्री हुँदासम्म प्रहरीले नै अनुसन्धान रोकेकोमा पछिल्लो समय अनुसन्धान सुरु भएको थियो । पहिलो चरणको अनुसन्धानमा प्रहरीले सरकारको पनि साथ पाएकोमा हाल जसरी हुन्छ यो अनुसन्धान कमजोर बनाउन दबाब परेको प्रहरी अधिकारीहरू बताउँछन् ।