NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायलको पुष्टि

काठमाडौं । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘हमासको बन्धकमा एक नेपाली रहेको हामी स्पष्ट पार्दै छौं,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता इलोन लेवीले भने । तर, जोशी गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन ।

प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । उनीहरूलाई पनि किबुजबाटै बन्धक बनाएर लगिएको हो । उनीहरू कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७र७ जना नागरिकलाई बन्धक बनाएको छ ।

जोशीलाई मुक्त गराउन सरकारले कतारको सहयोग लिनुपर्ने कतारका लागि एक पूर्वराजदूत बताउँछन् । ‘हमाससँग कतारको नजिकको सम्बन्ध भएको सबैसामु छर्लङ्गै छ । यस्तो कठिन अवस्थामा नेपालका परराष्ट्रमन्त्री यो विषयमा पहल गर्न कतार जानुपर्छ,’ उनले भने, ‘यस्तो संवेदनशील विषयमा चिठीपत्रले मात्रै काम गर्दैन ।’

नेपालसँग बलियो श्रम कूटनीति रहेको कतारका अमिरको नेपाल भ्रमण भने इजरायल–हमास युद्धले मध्यपूर्वमा देखिएको बढ्दो तनावले अन्तिम समयमा आएर रद्द भएको छ । बीबीसीले पनि बन्धकहरूको भाग्य ‘केही हदसम्म कतारको हातमा’ रहेको उल्लेख गरेको छ । कतारले इजरायल र हमासबीचको मुख्य मध्यस्थकर्ताका रूपमा अद्वितीय भूमिका निर्वाह गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री ऋषि सुनकले चार बन्धकलाई रिहा गरेकामा कतार र कतारी अमिरलाई धन्यवाद दिएका थिए । कतारले आगामी दिनमा दर्जनौं बन्धकलाई रिहा गर्न वार्ता हुन सक्ने जनाएको थियो । तर, गत शुक्रबार रातिदेखि गाजा क्षेत्रमा इजरायलको प्रवेशले अवस्था थप कठिन बनेको छ ।