NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राहत वितरणका नाममा पैसा उठाएको पाइएमा सरकारले कारवाही गर्ने

काठमाडौं । भूकम्प पीडितलाई राहत दिने नाममा अरुसँग पैसा उठाएको पाइएमा सरकारले कारवाही गर्ने भएको छ ।

कसैले आफूलाई मन लागेको अवस्थामा व्यक्तिगत रूपमा सहयोग गर्न पाउँछ । तर अरुसँग पनि सहयोगको अपिल गरेर रकम तथा जिन्सी सामानको संकलन गर्न नपाइने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

उनका अनुसार सहयोग गर्न इच्छुकले सरकारले उपलब्ध गराएको खातामा रकम जम्मा गराउन सक्छन् । ‘आफैं सहयोग गर्छु भन्न पाइयो तर रहम उठाएर माग्दै हिँडेको पाइएमा कारवाही हुन्छ,’ उनले भने, ‘सहयोग गर्न चाहनेले सरकारी खाता नम्बरमा रकम पठाउन सक्छन् । आफ्नै हातले दिन्छु भनेपनि व्यक्तिगत रूपमा गर्छ सक्छन् ।’

जिन्सी समाग्री सहयोग गर्न चाहेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन सकिने उनले जानकारी दिए । बुझाइएको उक्त समाग्री सिडिओले तोकेको अधिकारीमार्फत वितरण गरिने उनको भनाई छ ।

आज बजेको मन्त्रिपरिषद् बैठकले गृहको सोही प्रस्तावअनुसार राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने प्रस्तावलाई स्वीकार गरिसकेको छ ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो । प्रभावति क्षेत्रमा उद्धारको काम सकिएसँगै अब राहत वितरणको काम सुरु हुने सरकारले जनाइसकेको छ ।