NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापकको नेतृत्वमा काठमाडौं महानगरका ७१ सामुदायिक विद्यालय

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका ७१ वटा सामुदायिक विद्यालयको नेतृत्व शैक्षिक योग्यता कम भएका प्रधानाध्यापकले गरिरहेका छन् । माध्यमिक तहको प्रधानाध्यापक बन्न एमफिल, निम्नमाध्यमिक तहका लागि स्नातकोत्तर र आधारभूत तहको प्रधानाध्यापक बन्न स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भए पनि अधिकांशमा कम शैक्षिक योग्यता भएकाले नेतृत्व गरिरहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ ।

महानगरका अनुसार ६ आधारभूत तह, २१ निमावि र ४४ माविको नेतृत्व कम शैक्षिक योग्यता भएकाले गरिरहेको महानगरपालिकाले जनाएको छ । अधिकांश सामुदायिक विद्यालयको मावि तहमा स्नातकोत्तर तह र आधारभूत तहमा स्नातक तह उत्तीर्ण गरेका प्रधानाध्यापक छन् । सोही कारण महानगरपालिकाले प्रतिस्पर्धामा नयाँ प्रधानाध्यापक छनोट प्रक्रिया अघि बढाएको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार त्यसमध्ये पनि केही प्रधानाध्यापक अनिवार्य अवकाश हुँदै छन् । उक्त ठाउँमा पनि प्रतिस्पर्धाबाट नयाँ प्रधानाध्यापक पठाइनेछ ।

प्रधानाध्यापक छनोटका लागि सूचना जारी भइसकेको छ भने दुई महिनाभित्र छनोट प्रक्रिया सकिनेछ । ‘सबै सामुदायिक विद्यालयमा शैक्षिक योग्यता पुगेका प्रधानाध्यापक छैनन्, अब हेरफेर गर्छौँ,’ उनले भने, ‘उपल्लो शैक्षिक योग्यता जसको धेरै छ र प्रतिस्पर्धामा जसले बढी अंक प्राप्त गर्छ, उही प्रधानाध्यापक हुन्छ, हामी प्रधानाध्यापकको क्षमता र शैक्षिक योग्यतालाई पनि मापन गर्छौँ, अयोग्य व्यक्ति प्रधानाध्यापक बन्न पाउनुहुन्न ।’ उनले संघीय शिक्षा ऐनअनुसार नयाँ प्रधानाध्यापक छनोट गरिने जानकारी दिए ।

महानगरले ‘दरबन्दी मिलान तथा प्रअ व्यवस्थापनसम्बन्धी कार्यविधि ०८०’ निर्माण गरिसकेको छ भने त्यसैमा टेकेर नयाँ प्रधानाध्यापक छनोट हुनेछन् । महानगरका ८७ सामुदायिक विद्यालयमध्ये १३ वटामा मात्रै अवधि बाँकी रहेका र शैक्षिक योग्यता पुग्ने प्रधानाध्यापक छन् । उनीहरूको पाँचवर्षे कार्यकाल नसकिएकाले ती विद्यालयमा प्रधानाध्यापक नपठाउने महानगरले जनाएको छ । तीनवटा विद्यालयका प्रधानाध्यापकले चाँडै नै अनिवार्य अवकाश पाउन लागेकाले अवकाशपछि पठाउने महानगरको तयारी छ । त्यस्तै, महानगरको नयाँ नियम निजी विद्यालयमा भने लागू हुनेछैन । सामुदायिक विद्यालयलाई व्यवस्थित गर्न र शैक्षिक योग्यता एवं क्षमताको कदर गर्न महानगरले प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्न लागेको हो ।

यसरी छनोट हुनेछन् प्रधानाध्यापक
महानगरभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । महानगरको शिक्षा नियमावलीमा अन्तरविद्यालय प्रधानाध्यापक छनोट गर्ने व्यवस्था पनि गरिएको छ । महानगरले तोकेको योग्यताअनुसार मावि तहमा प्रधानाध्यापक बन्न माथिल्ला शैक्षिक योग्यता एमफिल तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यदि माथिल्लो योग्यता एमफिल नभए स्नातकोत्तर तह उत्तीर्ण गरेकाहरूबीच प्रतिस्पर्धा हुनेछ । तर, माविमा माथिल्लो शैक्षिक योग्यता एमफिल तह भएकाहरूले प्रधानाध्यापकका लागि प्राथमिकता पाउनेछन् भने सम्भावना पनि बढी हुनेछ । तर, एमफिल गरेको संख्या कम हुने भएकाले माथिल्लो योग्यता एमफिल भए पनि स्नातकोत्तर तहकासँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । एमफिल गरेकाहरूको संख्या अपुग हुने र स्नातकोत्तर तह गरेकालाई पनि माविको प्रधानाध्यापकमा समेट्नका लागि महानगरले यी दुईबीच पनि प्रतिस्पर्धा गराउनेछ ।

यस्तै, आधारभूत विद्यालय कक्षा पाँचसम्मका लागि स्नातक तह र आधारभूत तह कक्षा ८ सम्मका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको प्रधानाध्यापक छनोट गरिनेछ । त्यसभन्दा तल्लो तह प्राथमिक विद्यालयसम्म स्नातक तह उत्तीर्ण गरेकालाई प्रधानाध्यापक छनोट गरिनेछ ।

सूर्यविनायकमा ६ वर्षदेखि कार्यान्वयनमा
भक्तपुरको सूर्यविनायक नगरपालिकाले विद्यालयको गुणस्तर कायम गर्न कार्यविधि बनाएर ०७४ पुसदेखि प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिरहेको छ । नगरपालिकाभित्र रहेका ३० वटा विद्यालयमा १७ जना नयाँ प्रअ छनोट भएका थिए भने अन्यमा पुरानैले नाम निकालेका थिए । एउटै स्कुलमा पढाउने तीनजना शिक्षकसम्मले प्रअमा नाम निकालेका थिए । नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार यस्तो अभ्यास गरेपछि विद्यालय व्यवस्थापन र शैक्षिक सुधारमा प्रभावकारिता देखिएको छ । ‘हामीले पुस ०७४ को दोस्रो नगरसभामा सूर्यविनायक नगरपालिका शिक्षा कार्यविधि ०७४ तयार पारेका थियौँ, सोहीअनुरूप प्रअ छनोट ग¥यौँ,’ उनले भने, ‘कार्यविधि बनाउँदा विज्ञहरूलाई राखेका थियौँ ।’

सीताराम कोइराला प्रमुख, शिक्षा विभाग,
काठमाडौं महानगर
कम शैक्षिक योग्यता भएका प्रधानाध्यापकको स्थानमा अब महानगरपालिकाले प्रतिस्पर्धाका आधारमा नयाँ योग्य प्रधानाध्यापक छनोट गरी पठाउँछ । यसका लागि प्रक्रिया अघि बढिसकेको छ । दुई महिनाभित्र छनोट प्रक्रिया सकिनेछ । प्रधानाध्यापकको क्षमता र शैक्षिक योग्यतालाई मापन गरिन्छ । अयोग्य व्यक्ति प्रधानाध्यापक बन्न पाउनुहुन्न ।