NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भूकम्पले गाउँ नै रित्तियो तर विपद् व्यवस्थापन नेतृत्वलाई जाजरकोटभन्दा जापान प्यारो

काठमाडौं । विपद्मा सबैभन्दा धेरै सक्रिय हुनुपर्ने निकायमा पर्छन्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र अर्थ मन्त्रालय । जाजरकोट केन्द्रबिन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पपछि प्रभावित क्षेत्रका आमनागरिक राहत तथा पुनस्र्थापनाको व्यग्र प्रतीक्षामा छन् । तर यही बेला यी निकायका जिम्मेवार अधिकारी जापान भ्रमणमा रहेको पाइएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसहित सहसचिव रामेश्वर मरहठ्ठा, गृह सचिव दिनेश भट्टराई अर्थ मन्त्रालयका अधिकृत द्वय राजन थापा र त्रिविक्रम तिमिल्सिनासहतिको सरकारी टोली विनाशकारी भूकम्पमा आफूले निर्वाह गर्नुपर्ने भूमिका पन्छाएर जापान भ्रमणमा व्यस्त बनेका हुन् ।

विपद्को पूर्वजानकारी हुँदैन । तर विपद् व्यवस्थापनका लागि राज्यको अभिन्न अंग मानिने प्राधिकरण जस्तो संवेदनशील निकायको नेतृत्व गर्ने अधिकारीमध्ये दुईजना विदेश भ्रमणमा छन् । प्राधिकरणका अर्का सहसचिव जयनारायण आचार्य लामो समयदेखि स्वीकृत बिदामा छन् । दुवै सहसचिव अनुपस्थित हुँदा विपद्को अवस्थामा कार्यालयको जिम्मेवारी उपसचिवको काँधमा छ ।

शुक्रबार गएको भूकम्पबाट प्रभावित पीडितलाई राहत वितरण गर्ने काम अझै स्पष्ट भइसकेको छैन । राहत नपाएर पीडितहरूले भोकै रात काट्नु परेका समाचार राष्ट्रिय सञ्चारमाध्यममा छाइरहेका छन् । तर सबैभन्दा सक्रिय हुनुपर्ने निकायका प्रमुखहरू उच्चस्तरीय भ्रमण भनेर सोही रात जापान उडेका हुन् । विपद् आइसकेपछि त्यसैका लागि काम गर्न बनेको निकायका प्रमुख तुरुन्तै फर्किनुपथ्र्यो । तर टिकट नपाएको वहानामा उनीहरू चार दिनसम्म जापान भ्रमणमै छन् ।

प्राधिकरणका सूचना अधिकारीसमेत रहेका उपसचिव ध्रुबबहादुर खड्काले आफूलाई कार्यवाहकको जिम्मेवारी दिएर पोखरेल गत शुक्रबार जापान भ्रमणमा निस्किएको र अहिले उतै रहेको नेपालवाचलाई बताए ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पलगत्तै पोखरेल नेतृत्वको टोलीले स्वदेश फर्कंने प्रयास गरे पनि हवाई टिकट नपाउँदा विलम्ब हुन पुगेको उनले दाबी गरे । टिकट प्रबन्ध भइसकेकाले पोखरेल भोलि नेपाल आइपुग्ने उनले जानकारी दिए ।

‘भोलिपल्टै फर्किने कि भन्ने कुरा भएको थियो । तर टिकट नपाएकाले फर्किन सक्नुभएन,’ उनले भने, ‘भोलिको लागि टिकट कन्फर्म भइसक्यो भन्ने खबर आएको छ । अब भोलि विहान आइपुग्नुहुनेछ ।’

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विपद् परिषद्मा प्राधिकरणका प्रमुख सदस्य–सचिव रहने प्रावधान छ । तर पोखरेल जापान भ्रमणमा रहेका कारण जाजरकोट भूकम्पलगत्तै प्राधिकरणकोतर्फबाट उपसचिव खड्काको नेतृत्वमा परिषद्को बैठक बस्नु परेको थियो ।

यद्यपि, खड्का कार्यकारी प्रमुख पोखरेलको अनुपस्थितिले कुनै पनि काम नरोकिएको दाबी गर्छन् । ‘यहाँ कामहरू सबै प्रक्रियागत रूपमा हुने हुन् । उहाँको अनुपस्थितिले अहिलेसम्म एउटा काममा पनि असर परेको छैन,’ उनले भने, ‘यो अवस्थामा यहाँ भएनन् भनेर भन्ने मात्रै हो । आइतबार मात्रै दुई जिल्लामा दश करोड रूपैयाँ पठाइसकेका छौं ।’

के हो भ्रमणको प्रयोजन ?

प्राधिकरण, गृह र अर्थ मन्त्रालयका प्रतिनिधि रहने गरी जापानस्थित अन्तर्राष्ट्रिय सहयोग नियोग ‘जाइका’ले पोखरेलसहितका सरकारी अधिकारीलाई भ्रमणमा लगेको हो । जाइकाकै प्रोजेक्टअन्तर्गत ०७२ सालमा गएको भूकम्पले भएको क्षतिबारे लामो अध्ययन भएको प्राधिकरणका प्रवक्ता खड्काले बताए । खड्काका अनुसार, उक्त अध्ययनले नेपालका स्वास्थ्य, शिक्षा र सरकारी कार्यालयका भवनहरू उच्च जोखिममा रहेको देखाएको छ । यिनै भवनहरूको पुर्नर्निमाणका लागि थुप्रै लगानीको आवश्यकता हुने भएपछि यसको स्रोत पहिचानका लागि पोखरेलसहितको टोली उक्त भ्रमणमा गएको हो ।

गृह प्रशासनमा लामो समय काम गरेका पूर्व सचिव यादव कोइराला विपद्को अवस्थामा केन्द्रीय नेतृत्वको सबैभन्दा ठूलो भूमिका हुने बताउँछन् । यस्तो अवस्थामा नेतृत्वले तहले गर्नैपर्ने काम भनेको नीतिगत निर्णय हो । समयमा निर्णय नहुँदा विपद्को अवस्थामा उद्धार, राहत तथा खोजीका काम प्रभावित हुन सक्छन् ।

‘तुरुन्तै राहत उपलब्ध गराउनका लागि नेतृत्वको ठूलो भूमिका हुन्छ । यो काम छिटो–छिटो गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कतिपय अवस्थामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयले भने राहतका लागि संघमै भर पर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा संघको नेतृत्वबाट सबैभन्दा धेरै समन्वय अपेक्षा हुन्छ ।’

विपदको पहिल्यै जानकारी नहुने भएकाले जिम्मेवार अधिकारी विदेश भ्रमणमा रहँदा यस्ता विपद् आइपरेको अवस्थामा भ्रमण छोट्याएर फर्कंनु पर्ने उनी बताउँछन् । ०७२ सालको भूकम्पमा विदेश भ्रमणमा रहेका धेरै त्यसलाई छोट्याएर स्वदेश फर्किएको कोइरालाले स्मरण गरे ।
शुक्रबार राति ११ः४७ मा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परेर १५७ जनाको ज्यान गइसकेको छ भने अधिकांश घाइते छन् ।

त्यसमाथि सोमबार गएको ५.४ रेक्टर स्केलको परकम्पले थप घरहरूमा क्षति पुगेको छ भने केही घाइते भएका छन् । भूकम्पमा ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन् । भूकम्पले केहीको परिवार नै रित्तिएको छ, केही प्रियजन गुमाएर एक्लिएका छन् । सिंगो गाउँ नै मलामी हिँडेको चिउरी गाउँको बीभत्स दृश्यले सिंगो देशलाई नै स्तब्ध बनाएको छ ।

भूकम्पको ‘इपिसेन्टर’मै राहत नपुगेको र पीडितहरूले भोकै रात बिताउनुपरेको समाचारहरू सार्वजनिक भइरहेका बेला जिम्मेवार सरकारी अधिकारी नै विदेश भ्रमणमा मस्त रहेको भन्दै आलोचना भइरहेको छ ।