NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

सामाजिक सञ्जाल दुरुपयोग गर्नेमाथि आक्रामक बन्दै प्रहरी

काठमाडौं । सामाजिक सञ्जालका अमर्यादित गतिविधिले देशको सुरक्षामै जोखिम बढेपछि सरकारले कडाइ थालेको छ । मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ भने प्रहरीले पनि दुरुपयोग गर्नेमाथिको कारबाहीमा कडाइ थालेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका, २०८० स्वीकृत गरेको छ । निर्देशिकाले सामाजिक सञ्जाल कम्पनी तथा प्रयोगकर्तालाई नियममा बाँध्ने प्रयास गरेको छ ।

निर्देशिकाअनुसार सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता हुनुका साथै कार्यालय खोल्नुपर्ने हुन्छ । नेपालमा फेसबुक, टिकटक, एक्स (ट्विटर), इन्स्ट्राग्राम, युट्युबलगायत सामाजिक सञ्जालका प्रयोगकर्ता धेरै छन् ।

निर्देशिका कार्यान्वयनमा आएको तीन महिनामा सामाजिक सञ्जाल कम्पनीले नेपालमा दर्ता हुनुपर्नेछ । नेपालमा दर्ता नभई सञ्चालन हुँदा सामाजिक सञ्जालमार्फत हुने अपराध नियन्त्रणमा समस्या भएको भन्दै उनीहरूको सम्पर्क कार्यालय पनि राख्नुपर्ने उल्लेख गरिएको छ ।

निर्देशिकाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्न नहुने कामहरू पनि उल्लेख गरेको छ । फेक आइडी बनाउन नहुने, अरूलाई होच्याउन नहुने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच हुने सामग्री राख्न नहुने, निजी मामिलाका फोटा अनुमतिविना राख्न नपाइने प्रावधान छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिगार्ने तथा व्यक्तिको चरिहत्यासम्बन्धी सामग्रीको पोस्ट बढेपछि नियमनको माग हुँदै आएको छ । सोहीअनुसार सरकारले निर्देशिका ल्याएको हो । तर, यससम्बन्धी ऐन र नियमावली भने अझै आउन सकेको छैन ।

प्रहरीद्वारा आक्रामक कारबाही
नेपाल प्रहरीले पनि सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने तथा अमर्यादित गतिविधि गर्नेमाथि कारबाहीलाई तीव्रता दिएको छ । यस क्रममा बिहीबार युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई पक्राउ गरेको छ । एक महिलाको भिडियो नेतासँग जोडेर उनले सामाजिक सञ्जालमा राखेका थिए । सोही भिडियो सेयर गरेकोमा साइबर ब्युरोले आशा भारतीलाई पनि पक्राउ गरी मुद्दा दायर गरेको छ ।

त्यस्तै, नेपाली सेनाको विषयमा अनर्गल सामग्री पोस्ट गरेको आरोपमा झापाका डिल्लीराम खनाललाई पनि ब्युरोले पक्राउ गरी मुद्दा दायर गरेको छ । व्यवसायी दुर्गा प्रसाईंमाथि पनि ब्युरोले अनुसन्धान गरिरहेको छ । अन्य केही व्यक्तिहरू पनि निगरानीमा रहेको साइबर ब्युरोका प्रहरी अधिकारी बताउँछन् ।

खासगरी टिकटकमार्फत गलत सूचनाहरू फैलाउने तथा चरित्रहत्या गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ । जसमा गृह मन्त्रालयले गत साता टिकटकको सिंगापुर कार्यालयमा कार्यरत चार प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो । जसमा टिकटकमार्फत हुने गलत गतिविधि रोक्न समन्वय प्रभावकारी बनाउने छलफल भएको थियो ।

गृह मन्त्रालयले गत आइतबार विज्ञप्ति प्रकाशित गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई मर्यादित हुन आग्रह गर्दै, नत्र कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो । हामीले यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।

ताजा अपडेट

नेपालवाच विशेष