NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

घुससहित पक्राउ परेका झापाका सर्वेक्षक र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको नापी कार्यालयबाट घुससहित नियन्त्रणमा लिएको तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गत २९ असोजमा कार्यालयका सर्वेक्षक देव नारायण ठाकुर र बिचौलिया उमेश यादवलाई एक लाख २५ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

उनीहरू द्वयले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस मागेको विषयमा आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा छानबिन गर्दा ७० हजार नगद र ५५ हजार रूपैयाँको चेक लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका थिए ।

यो प्रकरणमा ठाकुरसहित अर्का सर्वेक्षक सुवास चन्द्र यादवको पनि मिलेमतो रहेको अनुसन्धानमा भेटिएको छ ।

आयोगले उनीहरू तीनैजनाको मिलेमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न/गराउन घुस लिएको जनाएको छ ।

उनीहरू त्रयलाई एक लाख २५ हजार रुपैयाँ बिगो मागसहित जरिवाना र कैद सजाय माग गर्दै आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।