NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

तिहारलायतका पर्वहरू देश र जनतालाई भावनात्मक एकतामा बाँध्ने सुत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश दिँदै नेपालीहरूको महान् पर्व शुभ दीपावलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधिनता र स्वाभिमान उच्च राख्न हामीलाई ठूलो आधार प्रदान गरेको उनले उल्लेख गरे ।

“तिहारलगायत पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत हुन् । यस पर्वले पारिवारिक पुनःमिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधिनता बलियो बनाउँछ । उत्पादन, श्रम, सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपक्षीको योगदान र मानवसँगको अन्तरक्रिया प्रगाढ बनाउँछ । देउसी भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्द्धननमा महत्वपूर्ण योगदान पुर्याउँछ”, प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताको सङ्गमस्थलका रूपमा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधार भएको बताए ।

“नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित छन् । यस्ता पर्वभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन्”, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।