सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर
काठमाडाैं । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर ईलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकुञ्ज, नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र इञ्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहाका तत्कालिन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सव इञ्जिनियर सुमन श्रेष्ठमाथि ३१ लाख ५९ हजार बिगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङमाथि एक करोड १९ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसैगरी कुमरोम सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष शम्भु जिसीमाथि ८९ लाख रुपैयाँ त्यही समूहका अर्को कालकालका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्जल बर्तौलामाथि १३ लाख ३१ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
त्यस्तै बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध ७८ हजार रुपैयाँ रकंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सीता दाहाल र सचिव कल्याण लटौलाविरुद्ध ३५ लाख ५० हजार रुपैयाँ विगो मागदावी सहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर ईलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानपश्चात कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनको विकास एवं विस्तारका लागि खैरहनी नगरपालिकाबाट विनियोजन भएको बजेट र समूहको आन्तरिक कोषबाट मध्यवर्ति सामुदायिक वन क्षेत्रमा कंक्रिट मचान निर्माण गर्ने भनी निकुञ्जको सौराहा सेक्टरबाट अनुमति प्राप्त गरी सो अनुमति र ऐन, नियम विपरीत काम गरेको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार निकुञ्जको कोर एरियामा कंक्रिट मचानभन्दा भिन्न लज होटलको स्वरुप र आकारको १८ कोठे ५ तल्ले विशाल भवन निर्माण गरेको, अन्य प्रयोजनका लागि निशुल्क काठ काटी ढुवानी निकासी गरी लैजान अनुमति लिई सो को दुरुपयोग गरी उक्त भवनमा समेत काठ प्रयोग गरेको, बुढी राप्ति उपभोक्ता समितिले कोर एरियामा वनेको उक्त भवनमा रकम खर्च गरेको पाइएको छ । त्यस्तै खैरहनी नगरपालिकाले अनुमति लिनु भन्दा अगाडि नै उपभोक्ता समितिसँग सम्झौता गरी निकुञ्जसँग समन्वय नगरी मध्यवर्ति क्षेत्र हो वा होइनसमेत एकिन नगरी निर्माण कार्यको सर्भे, नक्सा र लागत अनुमान तयार एवं स्वीकृत गरी निर्माण कार्य अगाडि बढाएको पाइएको छ । साथै सौराहा सेक्टरले आफूले प्रदान गरेको अनुमति र शर्त विपरित कोर एरियामा विशाल भवन निर्माण हुँदासमेत समयमै अनुगमन गरी रोक्का नगरेको कारणबाट कोर एरिया (निकुञ्जको चार किल्लाभित्र) मा निर्मित उक्त भवन प्रयोगविहिन भई भवन निर्माणमा लगानी भएको रकम औचित्यहिन भई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरे गराएको हुँदा सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया