काष्ठमण्डप सर्वसाधारणका लागि कहिले हुन्छ खुला ?
काठमाडौं । पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमै छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको उक्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनर्निर्माण समितिले गत असोज १५ गते नै काठमाडौं महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।
महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) का अनुसार पुनर्निर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदाविज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने यकिन हुन्छ ।
२०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएको थियो । उक्त सम्पदा निर्माणका लागि २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम गर्ने र खर्च काठमाडौं महानगरपालिकाले बेहोर्ने निर्णय गर्यो । यसको चार दिनपछि अर्थात् जेठ २९ गते महानगरपालिका र समितिबिच सम्झौता भएको थियो ।
सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपियाँ प्रदान गरिएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते पाँच करोड, २०७६ माघ ९ गते पाँच करोड र २०७८ असार १६ गते एक करोड रुपियाँ उपलब्ध गराएको थियो ।
क्षति भएको उक्त सम्पदा पुनर्निर्माणका लागि महानगरले उपलब्ध गराइएको ११ करोड ५० लाख रुपियाँ खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन र संरक्षण गर्न, काष्ठमण्डपलाई भौतिक रूपमा जिम्मेवारी स्वीकार गर्न पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले महानगरलाई आग्रह गरेका छन् ।
पुनर्निर्माणका क्रममा भएको सम्पूर्ण विवरणसहित निर्माणको समयमा विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदनसमेत महानगरलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई भत्किनुअगाडिकै स्वरूपमा निर्माण गरी २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरिसकेकी छिन् । गोरखापत्र दैनिकबाट
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया