बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने
काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा काठमाडौँ महानगरपालिकाले उक्त ट्राफिक लाइट प्रविधि जडान गरेको हो ।
पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने र बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजदेखि सञ्चालनमा ल्याइएको काठमाडौँ महानगरपालिका ट्राफिक विज्ञ जगत्मान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ ।
एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनःबटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको श्रेष्ठले बताए । उनका अनुसार रातो बत्ती बलेपछि सवारीसाधन रोकिन्छन् र यात्रुले बाटो काट्ने छन् ।
काठमाडौँ महानगरपालिकाले बबरमहलमा रहेको जेब्राक्रसको छेउको खम्बामा बटन राखेर ‘पोलिकन क्रसिङ लाइट’ जडान गरेको छ । यस्तो लाइट यसअघि कालीमाटी चोक, सुन्धारा, भृकुटीमण्डप, सर्वोच्च अदालत र त्रिचन्द्र क्याम्पस अगाडि पनि जडान गरिएकामा मर्मतसम्भार नगरिँदा दिगो हुन नसकेको महानगर कार्यालयले जनाएको छ ।
बबरमहल क्षेत्रमा बाटो काट्ने पैदलयात्रुको सङ्ख्या अत्यधिक हुने र दुर्घटनाको जोखिम देखिएकाले सुरुमा यो क्षेत्र रोजिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । ‘यो कामपाद्वारा आमनागरिकका लागि राखिएको ट्राफिक लाइट हो । यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ । प्रयोग गर्न जान्दा यसले सूचना देखाउँछ । यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ,’ उनले भने ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया