सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन निजी क्षेत्रको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।
छैठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा रु ४५ अर्बभन्दा बढी रकम जम्मा भइसकेको उल्लेख गर्दै सो सुझाव दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ढकालले भनेका छन्, ‘कार्यविधी बनाएर यसलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्छ । सामाजिक सुरक्षा कोषको स्थापना भएको छ वर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रोजगारदाता र श्रमिकबीच सम्बन्ध सुधारमा महत्त्वपूर्ण काम गरेको छ ।’
अध्यक्ष ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै राज्यको दूरदराजमा रहेका विपन्न जनता जो वैदेशिक रोजगारीमा जान चरम आर्थिक सङ्कट बेहोरीरहेका छन् तिनको सहजीकरणमा लगानी गर्नसमेत सुझाव दिएका छन् । उनले सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरू र श्रमिक सम्बन्ध सुमधुर बनाएको बताए।
लामो छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानूनी र संस्थागत व्यवस्था भएको अध्यक्ष ढकालले बताए । ‘यो नीतिगत सुधारले सामाजिक रुपान्तरणका हाम्रा प्रयासमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ,’ उनले भने ।
अध्यक्ष ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल र प्रभावकारी कार्यन्वयनमा महासङ्घको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रतिक्रिया