अझै बनेन चेपेखोला मोटरेबल पुल

गोरखा । गोरखा र लमजुङ जोड्ने चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । दूधपोखरी राजमार्गअन्तर्गत पर्ने गोरखाको सिरानचोक गाउँपालिका र लमजुङको राइनास नगरपालिका जोड्ने चेपेखोला मोटरेबल पुल गत वर्ष नै निर्माण भइसक्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेको ११ किलो भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए ।
आयोजना कार्यालयले विसं २०७७ जेठमा दुई वर्ष छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी बिक्वे बिल्ड्रर्स प्रालिसँग पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले विसं २०७९ मङ्सिरभित्रमा पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि काम सम्पन्न नगरेको उनले बताए ।
पुल निर्माणको भौतिक प्रगति आहिलेसम्म ७० प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । ‘निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि म्याद थप गरिएको थियो, पहिलोपटक थपिएको म्यादसमेत गुज्रिसकेको छ’, उनले भने, ‘थप गरिएको समयमा समेत काम सम्पन्न गर्न सकेन फेरि पनि म्याद थप गर्नुपर्ने अवस्था छ ।’
पुलको जग राख्ने, सबस्टक्चर निर्माण गर्ने, पुलको एकातर्फको स्पाम सुपर स्टक्चर निर्माणको काममात्र सकिएको प्रमुख खड्काले बताए । ‘अझै अर्कोतर्फको स्पाम सुपर स्टक्चर निर्माणदेखि बाँध निर्माणको काम बाँकी नै छ, त्यसबाहेक पुलसँग जोडिएको सडकको पहुँचमार्ग पनि ठेकेदारले निर्माण गर्न बाँकी छ’ , उनले भने ।
कार्यालय प्रमुख खड्काले ठेकेदारले इमान्दार भएर काम गरे अब म्याद थप भएर आउने समयसीमाभित्र काम सम्पन्न गर्न सक्ने अवस्था रहेको बताए । प्रि–स्ट्रेस प्रविधिको उक्त पुलको लम्बाइ ४० मिटर रहेको छ । चेपे पुल निर्माणका लागि आयोजनाले बिक्वे बिल्ड्रर्स प्रालिसँग रु सात करोड ६० लाखमा ठेक्का सम्झौता गरेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया