NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।

रास्वपाका सांसदले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेको हो ।

‘युद्धरत पक्षको नियन्त्रणमा रहेका नेपालीको यथाशीघ्र रिहाइ र उद्धार सम्बन्धमा परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हौँ’, सचेतक निशा डाँगीले भनिन् ।

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

‘स्वस्फुर्त रुसी सेनामा भर्ना भएर हाल कार्यरत नेपालीको यथार्थ विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउन, घाइतेको समुचित उपचारको प्रबन्ध मिलाउन र बन्धक बनाइएकाको सकुशल रिहाइका लागि यथाशीघ्र कूटनीतिक पहलमा जोड दिन आग्रह गर्दछौँ’, ध्यानाकर्षणपत्रमा उल्लेख छ, ‘हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

हमासले ५८ जना विदेशीलाई मुक्त गरिसकेको सन्दर्भमा, विपिन अझैसम्म बन्धक नै रहनुमा सरकारले रिहाइका लागि गरेको पहल पर्याप्त भएन कि भन्ने रास्वपाको बुझाइ छ ।’