NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

दलित महिलाले पाइनन् वृद्धाश्रममा शरण

काठमाडौं । दलित भएकै कारण मोरङ उर्लाबारी नगरपालिका– १ की ६२ वर्षीया शोभा सुन्दास (परियार) वृद्धाश्रममा शरण पाउनबाट समेत वञ्चित भएकी छिन् । बस्नका लागि बोलाएको विराटनगर पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले उनी दलित भएको थाहा पाएपछि शरण दिन इन्कार गर्दै फिर्ता पठाएको हो ।

सन्तानविहीन शोभा उर्लाबारीमा भद्रगोल ढंगले बस्दै आएकी थिइन् । उनको अवस्था देखेर उर्लाबारी नगरपालिका–३ की नम्बर वडासदस्य टीका भुजेलले वडाको सिफारिस बनाएर गत १५ मंसिरमा उनलाई आश्रममा लिएर आएकी थिइन् । पहिले राख्न सहमत भएको आश्रमले सुन्दास थर दलित भन्ने थाहा पाएपछि राख्न मानेन ।

आश्रमका सञ्चालकले ‘दलितलाई राख्यो भने अरू कोही पनि आश्रममा बस्दैनन्’ भन्दै राख्न नमानेको वडासदस्य भुजेलले बताइन् । ‘आश्रमले दलितलाई किन ल्याएको भन्दै आपत्ति जनाएर राख्न मानेन,’ उनले भनिन्, ‘त्यसपछि आमालाई फर्काएर उर्लाबारी नै ल्याउनुपर्‍यो । आश्रमकै आग्रहमा वडाबाट सिफारिस बनाएर आमालाई लगेका हौँ । तर, सानो जात भन्ने थाहा पाएपछि राख्न मानेनन् । अब उहाँलाई राख्न अर्को आश्रम खोज्दै छौँ ।’ दलित वृद्धा पुनः उर्लाबारी नै फर्किएकी छिन् ।

अधिकारकर्मी उमेश विश्वकर्माले जातीय छुवाछुत कानुनअनुसार कारबाही माग गर्दै जिल्ला प्रहरी मोरङमा २१ मंसिरमा उजुरी दर्ता गराएका छन् । तर, उजुरीउपर प्रहरीले कारबाही गरेको छैन । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले उजुरी दर्ता भएपछि घटनाबारे बुझ्ने काम भइरहेको र बुझिसकेपछि किटानी जाहेरी दर्ता गरेर कानुनअनुसार कारबाही गर्ने बताए ।

 

ताजा अपडेट

नेपालवाच विशेष