NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

विकास बैंकमा गरिमाले ल्यायो पहिलो पटक इएमआई, ग्राहकको आकर्षण बढ्दो

काठमाडौं । करिब तीन दशकअघिदेखि सुरुवात भएको क्रेडिट कार्डमा आजसम्म पनि सीमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदासम्बन्धी जागरुकताको कमीले गर्दा अझैसम्म पनि यसको पहुँच आम जनमानसमा पुग्न सकेको छैन । यही कुरालाई मध्यनजर राखेर गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलोपटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात किस्ताबन्दीको सुरुवात गरेको छ । बैंकका क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले ० प्रतिशत ब्याजदरमा यो सेवा लिन सकिने बैंकले जनाएको छ ।

सामान किन्न मन हुने तर तुरुन्तै पैसा नहुने ग्राहकलाई ईएमआई सुविधाले मद्दत पुग्ने बैंकको भनाइ छ । ग्राहकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई मासिक किस्ताको रुपमा तिर्न सकिने बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख नकुल पौडेलले बताए । उनका अनुसार सम्झौता गरेका विक्रेताहरुसँग मात्रै नभएर जुनसुकै सपिङ स्टोर (ईएमआई सुविधा भएको स्टोर) मा गएर ग्राहकले सामान खरिद गरी क्रेडिट कार्डबाट रकम तिर्न सकिने छ । ग्राहकले आफूलाई मन पर्ने स्टोरबाट सामान खरिद गर्दा बैंकमा भ्याट बिल भने पेश गर्नुपर्ने उनले बताए ।

यो सुविधा लिँदा ग्राहकले मासिक वा वार्षिक रुपमा छुट्टै रकम तिर्नुनपर्ने उनको भनाइ छ । क्रेडिट कार्ड नभएपनि गरिमाका ग्राहकले सामान किनेको भ्याट लिएर बैंकमा पेश गरेको खण्डमा बैंकले भ्याट बिललाई लोनमा कन्र्भट गरेर ईएमआई सुविधा उपलब्ध गराउने उनले जनाए । पौडेलका अनुसार ग्राहकले ईएमआई सेवा तीन महिने, ६ महिने, ९ महिनाजस्ता अवधिको लिन सकिने छ ।

हाल बैंकले इएमआई सुविधा ग्राहक आफैले सपिङ स्टोरबाट सामान किनेर भ्याट बिल बैंकमा पेश गर्न सकिने व्यवस्था गरेको छ । ईएमआईलाई विस्तारै विभिन्न स्टोरहरुसँग एग्रिमेन्ट गर्ने योजना भएको ट्रान्जेक्सन बैंकिङ प्रमुख पौडेलले बताए ।

ईएमआईबारे ग्राहकको चासो बढ्यो

बैंकले असोजबाट ईएमआई सुविधा ग्राहकहरुमाझ प्रवाह गर्न थालेको हो । यो सुविधा ग्राहकहरुमाझ ल्याएसँगै यसबारे बुझ्ने ग्राहकको संख्या बढ्न थालेको पौडेल बताउँछन् । ‘हामीले ईएमआई सुविधा ल्याएसँगै बैंकका शाखाहरुमा ग्राहकहरुले यो सेवाबारे धेरै नै चासो राख्नुभएको छ । उहाँहरु बैंकको शाखामा नै आएर ईएमआइबारे बुझ्नुहुन्छ,’ उनले भने । उनका अनुसार यो सेवा बैंकले दिन थालेसँगै क्रेडिट कार्ड लिने ग्राहकहरुको संख्या बढ्न थालेको छ । बैंकमा ईएमआइका लागि एप्लिकेशन दिने ग्राहकको संख्यासमेत बढ्न थालेका छन् ।

पौडेल बैंकका सामान्य ग्राहकलाई स–साना फाइनान्सिङमा जोड्ने उद्देश्यले यो सुविधा ल्याएको बताउँछन् । उनले वाणिज्य बैंकको पहुँच नपुगेका ग्रामिण क्षेत्रमा ईएमआइलाई फोकस गरेको बताए । यो सुविधाले आवश्यक परेको बेला गरगहना, फर्निचर, कपडा किन्नलाई सहयोग पुग्ने उनको भनाइ छ ।

गरिमा विकास बैंकले ईएमआइ सेवा बाहेक इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, अनलाइन खातालगात डिजिटल सेवा दिँदै आएको छ । यसबाहेक बैंकले विदेशमा भएका ग्राहकले विदेशबाटै मोबाइल बैंकिङ चलाउन पाउने, आफ्नो खातामा भएका रकमबारे सजिलै जानकारी लिन सकिने सुविधा दिँदै आएको पौडेलले बताए । वाणिज्य बैंकले दिँदै आएका सबैखाले सुविधा गरिमा विकास बैंकले पनि ग्राहकलाई दिँदै आएको बैंकले जनाएको छ । बैंकको सेवामा ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको पौडेलको भनाइ छ ।

२०६४ सालदेखि वित्तिय कारोबार गर्दै आइरहेको गरिमा विकास बैंकको हाल देशभर १३१ शाखा कार्यालय, ५२ एटिएम सञ्चालनमा छन् ।

के हो ईएमआई ?

इएमआई भनेको (इक्वेटेड मन्थली इन्स्टलमेन्ट) अर्थात समान मासिक किस्ता हो ।

इएमआई बैंकले विशेषगरी क्रेडिट कार्डबाहक ग्राहकलाई उपलब्ध गराउँछ । जसरी बैंकमा कर्जा लिएबापत् हामी मासिक किस्ता तिर्छौ, त्यस्तै इएमआईमा पनि मासिक किस्ता बुझाउनुपर्ने हुन्छ । इएमआईमा पुरै पैसा नतिरुञ्जेल किस्ता बैंकलाई तिरिरहनुपर्छ । इएमआईमा बैंकममा कर्जा लिँदा मासिक साँवाको ब्याज तिर्नुपरेजस्तै यसमा पनि ब्याज तिर्नुपर्ने हुन्छ भने कतिपय अवस्थामा बैंकले ० प्रतिशत ब्याजदरमा इएमआइ सुविधा दिएको हुन्छ ।

इएमआई सुविधा लिनको लागि बैंकमा खाता र क्रेडिट कार्ड हुनुपर्छ । खाता र क्रेडिट कार्ड भएका ग्राहकले इएमआईका लागि एप्लाई गर्न सक्छन् । इएमआईको अवधि ३ महिना, ६ महिना ९ महिना र १२ महिनासम्म हुनसक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष