NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

लेखनाथको व्यंग्य– लुम्बिनीबाट सुरु माओवादीको रूपान्तरण अभियान गोकर्णमा अन्त्य भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले आफ्नो पार्टीको पछिल्लो कार्यशैलीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जाहेर गरेका छन् । पार्टीले सञ्चालन गरेको भनिएको रूपान्तरण अभियानप्रति उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन् ।

माओवादीले थालेको रूपान्तरण अभियान लुम्बिनी विकास कोषको उपाध्यक्षबाट सुरु भएको र गोकर्ण रिसोर्टमा पुगेर अन्त्य भएको न्यौपानेको टिप्पणी छ ।

‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन,’ उनले पार्टी नेतृत्वप्रति व्यंग्य गर्दै आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

माओवादीले गत भदौ १६ बाट ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’ नाम दिएर तीन महिना पार्टी रूपान्तरण अभियान घोषणा गरेको थियो । उक्त अभियान घोषणा गरेकै दिन माओवादी नेतृत्वको सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति गरेको थियो । न्यौपानेले लुम्बिनी उल्लेख गरेर त्यही प्रकरणलाई संकेत गरेका हुन् ।

न्यौपानेले गोकर्ण रिसोर्टमा गरिएको रेनु दाहाल पुत्रीको भड्किलो विवाहप्रति पनि तीव्र असन्तोष प्रकट गरेका छन् ।  भरतपुर महानगरपालिकाकी मेयर रेनु प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी हुन् । विगतमा फजुल खर्च बेगरको प्रगतिशील विवाहको वकालत गर्ने प्रचण्डको परिवारभित्रै भड्किलो विवाह भएपछि अहिले सामाजिक सञ्जालमा यसको चर्को आलोचना भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष