NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नगरपालिकाका प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा

सिरहा । सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ ।

धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डविपरीत उत्खनन अनुमति दिएको भन्दै वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोविरुद्ध मुद्दा दायर गरेको हो । सर्रेखोला सामुदायिक वन क्षेत्रभित्रबाट अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न सात ट्र्याक्टर र तिनका चालकलाई वन कार्यालयले गत मङ्सिर १५ गते नियन्त्रणमा लिएको थियो ।

उक्त कार्यालयले सवारीसाधनसहित पक्राउ परेका मञ्जितकुमार यादव, फूलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादव, अरविन्दकिशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषोत्तम यादवविरुद्ध दायर गरेको एक विज्ञप्ति निकालेर सार्वजनिक गरेको हो ।

त्यसैगरी धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र वरुण कन्सट्रक्सनका सञ्चालक निलम कुमारी यादवविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुले वन नियमावली, २०७९ को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३(ख) बमोजिम तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ४९ख० र ६(३) बमोजिमको प्रक्रिया पूरा नगरी अवैध ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन गर्ने गराउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष