NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बुढानीलकण्ठ निवास सर्ने ‘साइत’ जुराउँदै देउवा, वास्तु दोष मेट्न संरचनामा फेरबदल

काठमाडौं । गत वर्ष १० पुसमा राजनीतिक समीकरण बदलिँदा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीबाट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुगे । बालुवाटार छाडेर उनी बुढानीलकण्ठ निवास गएनन्, धुम्बाराहीस्थित कूटनीतिज्ञ कुलचन्द्र न्यौपानेको घर भाडामा लिएर सरे । कारण थियो, निजी निवासको मर्मत । साथै, ज्योतिषको ‘सल्लाह’ ।

एक वर्षदेखि जारी देउवानिवास मर्मत कार्य लगभग अन्तिम चरणमा छ । तर, मर्मतका कारणले मात्रै देउवा घर सर्न भने रोकिएका होइनन् । यसमा उनको ज्योतिष परामर्शले पनि काम गरेको छ । उनी प्रायः ज्योतिषीको सल्लाहअनुसार ‘मुभ’ गर्ने गर्छन् । देउवाले परामर्श गरिरहेका ज्योतिष तथा वास्तुविज्ञ सुरेशचन्द्र रिजालका अनुसार आफूसँगको परामर्शका आधारमा बालुवाटारबाट बाहिरिनेदेखि वास्तु मिलाएर मर्मत र घर सर्ने साइतको खोजी भइरहेको छ । पछिल्लो समय घर सर्ने साइतका लागि पनि उनीसँग देउवाले परामर्श गरेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘बुढानीलकण्ठ शेरबहादुर देउवालाई भाग्योदय गराउने ठाउँ हो । त्यहाँको घर आफैँमा वास्तुसम्मत छ, तर ग्रह परिवर्तन भएअनुसार वास्तुमा पनि फेरबदल गर्नुपर्ने हुन्छ । त्यहीअनुसार अहिले घरको संरचनामा सामान्य परिवर्तन गर्न लागिएको हो । पछिल्लो समय मर्मतको काम भइरहेको छ । काम भइरहेको समयमा पनि एक–दुईपटक वास्तुसम्मत काम भए–नभएको बुझ्न बुढानीलकण्ठ गएको छु । जुन दिन साइत गरेर बुढानीलकण्ठ जानुहुन्छ, त्यसले उहाँलाई थप शक्तिशाली बनाउँछ । ग्रहका सबै अवस्थालाई हेरेर बालुवाटारबाट धुम्बाराही र धुम्बाराहीमा केही समय होल्ड गरिएको हो । त्यसै कारण उहाँको धुम्बाराही बसाइ लम्बिएको हो,’ रिजालले नयाँ पत्रिकासँग भने ।

बुढानीलकण्ठस्थित घरको मुख्यद्वार (गेट) को संरचना पूर्ण रूपमा फेरबदल गर्ने गरी काम भइरहेको छ । साथै, घरका भित्री र बाहिरी संरचनामा केही परिवर्तन गरिएको छ । रिजालका अनुसार घरको छतमा रहेको स्विमिङ पुलको उचाइ र संरचनामा परिवर्तन गरिएको छ । प्रवेशद्वारमा वास्तुको दोष मेट्न तामाका तार र क्रिस्टल राखेर वास्तुसम्मत बनाउन लागिएको छ । ‘प्रवेशद्वारमा क्रिस्टल राख्ने, वास्तुको दोष मेट्न तामाका तार राखेर वास्तुसम्मत बनाउन खोजेको हो । पानीको थोरै कुरा थियो । स्विमिङ पुलको उचाइ र संरचनामा फेरबदलको काम भइरहेको छ,’ ज्योतिष रिजालले भने ।

अहिले बसिरहेको भाडाको घरमा पनि देउवा ज्योतिषको सल्लाहअनुसार वास्तु र ग्रहदशालाई ध्यानमा राखेर सरेको र सोहीअनुसारको लाभ हासिल गरेको रिजालको दाबी छ । ‘सर्नुअघि कुन दिशा उपयुक्त हुन्छ भनेर सल्लाह भएको हो । त्यसवेला सीधै बालुवाटारबाट निस्किएर बुढानीलकण्ठ गइदिएको भए उत्तर पथ्र्यो । त्यसको असर नराम्रो हुन्थ्यो । यी सबैलाई मध्यनजर गरेर राम्रोका लागि उहाँ धुम्बाराहीमा सर्नुभयो,’ एक वर्षअघि बालुवाटारबाट बाहिरिँदा दिएको परामर्शबारे रिजालले भने, ‘निजी निवास पनि नयाँ तरिकाले मर्मत–सम्भार गर्ने भएपछि त्यसले पनि केही अर्थ पक्कै राख्ने नै भयो । आफ्नो भाग्य र स्वास्थ्यलाई ख्याल गरेर अहिलेको ठाउँमा उहाँ बसोवास गर्दै आउनुभएको हो ।’

देउवाका स्वकीय सचिव भानु देउवाले भने मर्मतको काम पूर्ण रूपमा नसकिएकाले बुढानीलकण्ठ कहिले सर्ने भन्ने मिति तय नभएको बताए । ‘वास्तुसम्मत काम भइरहेकाले सर्न ढिलाइ भएको होइन । मर्मतको काम नसकिएकाले ढिलाइ भएको हो । वास्तुसम्मत बनाउन लागिएको भन्ने होइन । सामान्य मर्मतसम्भारको काम हो । एक महिनाअघि नै सर्ने कुरा थियो, काम नसकिएकाले रोकिएको हो,’ उनले भने ।

तत्कालीन समयमा कांग्रेस सरकारबाट बाहिरिएपछि कार्यकर्ताको निराशा पोख्ने थलो देउवाको भाडाको निवास बन्यो । धुम्बाराही सरेको दुई महिनापछि देउवाले गुमेको सातै प्रदेश र केन्द्रको सत्तामा कांग्रेसलाई ‘कमब्याक’ गराए । पार्टीका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सफल भए । करिब एक वर्षको अवधिमा कांग्रेसमा ‘कोर्स करेक्सन’ र सत्तामा पुनरागमनको साक्षी पनि धुम्बाराही नै बन्यो ।

सत्तागठबन्धनको सहमतिअनुसार देउवा ‘वेटिङ प्राइममिनिस्टर’ हुन् । अहिलेको बसाइ सबै कुरालाई राम्रो गर्नका लागि भएको देउवाका ज्योतिष रिजालको दाबी छ ।

यसअघि देउवा प्रधानमन्त्री हुँदा देशको ‘अर्थतन्त्रमा सुधार ल्याउन’ बालुवाटारको उत्तरतर्फको ढल खन्न लगाएको ज्योतिष रिजालले बताए । ‘उहाँ प्रधानमन्त्री हुने वेलामा पनि हामीले बालुवाटारको उत्तरतर्फको ढल खन्न लगाएका थियौँ । त्यसले देशको समग्र अर्थतन्त्रलाई नै खलबल्याएको थियो । जो प्रधानमन्त्री बनेर गए पनि धेरै समय टिक्न नसक्ने अवस्था भएकाले वास्तुको आइडिया हामीले नै दिएका हौँ । अरू सबै कुरा मिल्दा पनि वास्तु दोष हो भनेर हामीले प्रतिवेदन नै दिएका थियौँ,’ उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि त्यसलाई भत्काउने योजना थियो । उहाँ बालुवाटारलाई राम्रो बनाउनुपर्छ र वास्तुसम्मत बनाउनुपर्छ भनेर लाग्नुभएको थियो, तर त्यसवेला प्राविधिक र कोरोनाका कारण सायद मिलेन । ०७९ को वैशाख–जेठमा वास्तु मिलाउन देउवाले पूरै ढल भत्काउनुभएको थियो ।’