NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

निरन्तर खुम्चिँदै वैदेशिक व्यापार

काठमाडौं । नेपालमा आर्थिक मन्दीको प्रभाव वैदेशिक व्यापारमा समेत परेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकमा त्यस्तो देखिएको हो ।

चालु आवको सुरुवाती महिना साउनदेखि सुरु भएको वैदेशिक व्यापारको ओरालो यात्राले मंसिरमा समेत निरन्तरता पाएको छ । मंसिरमा आइपुग्दा नेपालको वैदेशिक व्यापार झन् खुम्चिएको छ ।

चालु आवको मंसिरमसान्तसम्ममा नेपालमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.२९ प्रतिशत कम हो । सो आवमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

आयात हुने वस्तुको साथसाथै निर्यातमा समेत कमी आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । चालु आवको मंसिर मसान्तसम्ममा कुल ६३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु विभिन्न मूलुकमा निर्यात भएको छ । यो तथ्यांक गत आवको सोही अवधिको तुलनामा ६.०९ प्रतिशतले कमी हो ।

आयात र निर्यात दुवै घट्दा समग्र वैदेशिक व्यापारको आकार समेत खुम्चिएको छ । भन्सार विभागको तथ्यांकअनुसार मंसिर मसान्तसम्ममा ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जुन तथ्यांक गत आवको सोही अवधिको तुलनामा ३.६४ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको भएको विभागको तथ्यांक छ ।

पाँच महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा व्यापार घाटामा थोरै सुधार देखिएको छ ।  चालुआवको पहिलो पाँच महिनामा व्यापारघाटा ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ पुगेको छ । गत आवको मंसिर मसान्तसम्ममा नेपालको विभिन्न देशसँग व्यापारघाटा ५ खर्ब ९७ अर्ब ४४ करोड थियो ।

चालु आव (पाँच महिना) को आयात/निर्यात तथ्यांक

चालु आवको साउनमा मात्रै १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको वस्तु आयात भएको छ । चालु आवको भदौमा आइपुग्दा आयात साउनको तुलनामा एक अर्ब बढी भएको  देखिन्छ । भदौमा कुल १ खर्ब ३० अर्ब ५१ करोडको आयात भएको छ । त्यस्तै असोजमा १ खर्ब ४८ अर्बको विभिन्न वस्तु नेपाल भित्रिएको छ । कार्तिकमा भने आयातमा कमी देखिएका छ । कार्तिकमा १ खर्ब ४ अर्ब मात्रै वस्तु आयात भएको तथ्यांक छ । त्यस्तै मंसिरमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएका छ ।

तथ्यांकअनुुसार साउनमा नेपालले १३ अर्ब ५२ करोडको विभिन्न वस्तु निर्यात गरेको छ । साउनको तुलनामा भदौमा निर्यात हुने वस्तु घटेको छ । भदौमा १२ अर्ब ९१ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको हो । त्यस्तैगरी असोजमा निर्यात केही मात्रमा बढेको देखिन्छ । उक्त महिनामा १४ अर्ब ४२ करोडको वस्तु आयात भएको हो । कार्तिकमा आइपुग्दा निर्यात झन् खुम्चिएर ९ अर्ब ६९ करोडको मात्रै भएको छ । मंसिरमा भने निर्यातमा थोरै सुधार देखिएको छ । उक्त महिनामा नेपालबाट १२ अर्ब ६४ करोडको वस्तु निर्यात भएको छ ।

भारतसहित १५१ देशमा व्यापार

छिमेकी मूलुकभारतसहित नेपालको १५१ देशसँग वैदेशिक व्यापार रहेको छ । भारतसँग नेपालको सबैभन्दा ठूलो व्यापार छ । चालु आवको मंसिरसम्ममा नेपालले भारतबाट ३ खर्ब ९४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्त आयात गरेको छ भने ४२ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु भारत निर्यात गरेको छ । त्यस्तै नेपालको दोस्रो छिमेकी मूलुक चीनबाट १ खर्ब २५ अर्ब ६२ करोड रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट चीनमा १  अर्ब ३ करोडको वस्तु निर्यात भएको छ ।

अन्य मूलुकहरुमा अस्ट्रेलिया ६ अर्ब २८ करोड, बंगलादेश १ अर्ब ८९ करोड, क्यानडा २ अर्ब १७ करोड, फ्रान्स ५ अर्ब १५ करोडको वस्तु आयात भएको छ ।

सबैभन्दा बढी आयात भएका वस्तु

मंसिर मसान्तसम्मको तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँको डिजेल आयात भएको छ । त्यस्तै २८ अर्ब ५५ करोड बराबरको पेट्रोल र २० अर्ब ६५ करोड बराबरको एलपी ग्यास आयात भएको विभागको तथ्यांक छ ।

विदेश निर्यात हुने मूख्य वस्तु

नेपालबाट सबैभन्दा बढी वस्तु निर्यात हुनेमा आइरन एण्ड स्टील रहेको छ । मंसिरमसान्तसम्मको तथ्यांकअनुसार ७ अर्ब एक करोडको आइरन एण्ड स्टील आयात भएको छ । त्यस्तै सबैभन्दा बढी वस्तु निर्यात हुनेमा गलैँचा रहेको छ । मंसिरमसान्तसम्ममा नेपालबाट ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको गलैँचा निर्यात भएको हो । धेरै मात्रामा निर्यात हुने वस्तुमा अलैँची पनि हो । मंसिरमसान्तसम्ममा ३ अर्ब ९ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।

यसैगरी चालु आवको मंसिर मसान्तसम्ममा २ अर्ब ५ करोडको पाम तेल र ३६ करोडको भटमासको तेल निर्यात भएको छ ।