NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अर्थ मन्त्रालय र राष्ट्र बैंकले भनेजस्तै हाम्रो अर्थतन्त्र स्वस्थ्य छ ?

काठमाडौं । आर्थिक संकट गहिरिदै जाँदा व्यवसायी तथा आम नागरिकमा चिन्ता बढ्दै गएको छ ।

उद्योग मन्त्रालयको तथ्यांकमा बन्द हुने उद्योगहरुको संख्या ह्वात्तै बढेको छ । व्यवसायीहरुले सार्वजनिक रुपमै आफ्ना अप्ठ्याराहरु बताइरहेका छन् । गृहिणीहरु भान्छा महंगो बन्दै गएकोमा चिन्तित छन् । तर अर्थ मन्त्रालय र राष्ट्र बैंकले बारम्बार अर्थतन्त्र लयमै रहेको रटान लगाइरहेको छ । यी दुवै निकायले सार्वजनिक गर्ने तथ्यांकले अर्थतन्त्र लयमा रहेको दावी गरेपनि बजार सकारात्मक छैन ।

पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री अर्थ मन्त्रालय र राष्ट्र बैंकले बारम्बार भन्ने गरेको देशको अर्थतन्त्र स्वस्थ छ भन्ने अभिव्यक्ति पूर्ण सत्य नभएको बताउँछन् ।

नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगमा सहभागी हुँदै क्षेत्रीले अर्थतन्त्रबारे राज्यको अभिव्यक्तिमा असहमति जनाएका छन् । उनकाअनुसार अर्थतन्त्रको यथार्थतामाथि राष्ट्र बैंक र अर्थमन्त्री प्रकाशशरण महतले आंशिक रुपमा मात्रै साँचो कुरा गरिरहेका छन् ।

अर्थमन्त्रालय, अर्थमन्त्री र राष्ट्र बैकको भनाईमा असहमति राख्दै क्षेत्रीले प्रस्तुत गरेको तर्क यस्तो छ :

हाम्रो वस्तुको व्यापार, सेवाको व्यापार र ट्रान्स्फरको संयुक्त रुपलाई चालु खाता भन्छौं । यसपटक त्यो चाहीं ९९ अर्बले हाम्रो पक्षमा छ । चालु खर्च नै आफ्नो पक्षमा छ भनेपछि अर्थतन्त्र स्वस्थ्य हुन थालेछ भन्ने रुपमा उहाँहरु जानुभयो । तर चालु खाता नाफामा जानुमा खास योगदान त विप्रेषणको हो । विप्रेषण कहिले अधिक हुन्छ भने कहिले एकदमै कम ।

कुनै एउटा मुलुकले आधारभूत नीतिमा परिवर्तन गरेर नेपाली कामदार चाहिदैंन भन्यो भनेमात्रै पनि यसमा प्रभाव पर्छ । एकपटक मलेसियनहरुले बंगलादेशका श्रमिक नचाहिने भनेर पठाइदिएपछि नेपालीहरु त्यहाँ जानको लागि प्रोत्साहित भएका थिए । अहिले पनि त्यो क्रम जारी छ । यस्ता नीतिगत परिस्थितीहरु बदलिएर हाम्रा श्रमिकहरुको आवश्यकता नहुने भयो भने फेरि हामी त्यो भ्याकुममा पर्ने अवस्था आउन सक्छ ।

औसतमा एक अर्ब १९ करोड जस्तो रेमिट्यान्स प्रति महिना हामीलाई प्राप्त भइरहेको छ । तर यो अस्थिर हो भन्ने कुरा बुझ्नुपर्छ । अर्कोतर्फ विदेशी मुद्रा सञ्चितीमा योगदान गर्ने कुराहरु वैदेशिक ऋण हो । त्यो भन्दा पनि बलवान चिज वस्तु निर्यातबाट प्राप्त हुने विदेशी मुद्रा र पर्यटन हो । यी पक्षहरु अझै पनि कमजोर नै छन् ।

तर रेमिट्यान्समने रुपमा भित्रिएको रकमबाट चालु खाता सकारात्मक भयो भनेर उहाँहरुले अर्थतन्त्र ठिक छ, लयमा छ जस्ता प्रतिक्रिया दिइरहनुभएको छ । त्यसलाई ‘हाइलाइट’ गर्नुपर्छ जस्तो मलाई लाग्दैन । हामीले पर्याप्त वस्तु निर्यात गर्न सक्ने र विदेशमा गएका नेपाली नागरिकहरुले प्राविधिक काममार्फत त्यो पनि वैधानिक स्रोतबाट रेमिट्यान्स पठाउने भएको भए हाइलाइट गर्न सकिन्थ्यो । हामीले आधारभूत रुपमा ध्यान दिनुपर्ने कुरामा पनि दिइएको छैन ।

यस लगायतका तर्क सहित क्षेत्री र पूर्व मुख्य सचिव विमल कोइरालाले अर्थतन्त्र स्वस्थ नभएको तर्क गरेका हुन् ।
मुलुकको वर्तमान अर्थतन्त्र र समाधानका नीतिगत उपायबारे गरिएको यो बहस आइतबार राति ७ : ४५ बजेपछि नेपालवाचको युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ । यस्तै आइतबार नै राती ८ बजेपछि एपीवान टेलिभिजनबाट पनि हेर्न सक्नुहुनेछ ।