NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

भारतीय विश्वविद्यालयबाट स्नातकोत्तरलाई त्रिविले स्नातकको समकक्षता दिएपछि…

काठमाडौं । विश्वविद्यालयको समकक्षता भन्नेबित्तिकै बराबरको मान्यता भन्ने बुझिन्छ । एक विश्वविद्यालयमा अध्ययन सकेका विद्यार्थीले अर्को विश्वविद्यालयबाट बराबरीको मान्यता पाउन समकक्षता लिनुपर्ने प्रचलन छ । नेपालमा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले समकक्षता प्रमाणपत्र जारी गर्ने काम गर्दै आएको छ ।

देशकै सबैभन्दा पुरानो र धेरै विद्यार्थी अध्यापन गराउने विश्वविद्यालय भएकाले धेरैलाई लाग्न सक्छ, त्रिविबाट व्यवस्थित ढंगले यस्ता प्रमाणपत्र जारी भइरहेको छ । तर त्रिवि यति लठिभद्र छ कि समकक्षता शब्दकै हुर्मत लिने गरी समकक्षता प्रमाणपत्र वितरण गरेको पाइएको छ । बराबरको मान्यता दिएर समकक्षता दिनुपर्नेमा त्रिविले एक तह घटुवा गरेर एक विद्यार्थीलाई समकक्षताको प्रमाणपत्र दिएको छ । भारतस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरबाट स्नातकोत्तर एक नेपाली विद्यार्थीलाई त्रिविले एक तहै घटुवा गरेर अनौठो किसिमको समकक्षता प्रमाणपत्र दिएको हो ।

स्तातकोत्तर उत्तीर्ण गरेको मार्कसीटलगायत माग गरिएका सम्पूर्ण कागजात नत्थी गरी बागलुङका सजग पौडेलले समकक्षता प्रमाणपत्रका लागि त्रिविमा आवेदन दिएका थिए । आवेदन दिएको दुई वर्षपछि त्रिविले उत्तीर्ण गरेको तहभन्दा एक तहमुनिको समकक्षता प्रमाणपत्र जारी गरेको हो ।

स्नातकोत्तर तह उत्तीर्ण आफूलाई त्रिविले आवेदन दिएको दुई वर्षपछि एक तहमुनिको समकक्षता प्रमाणपत्र दिएको पौडेलले नेपालवासँग गुनासो गरे ।
‘समकक्षताका लागि त्रिविमा अनेक कागजात पेश गर्नुपर्ने भएकाले पहिले त त्यो जुटाउनै एक वर्ष लाग्यो,’ उनले भने, ‘माग गरिएअनुसारका कागजात जुटाएर पेश गरे पनि दुई वर्षपछि एक तह घटुवा गरेको प्रमाणपत्र पाएँ ।’

एउटै तहमा मात्र समकक्षता दिइन्छ भन्ने बुझेको आफू त्रिविको यो हर्कतले आश्चर्यमा परेको उनले बताए । ‘त्रिविले स्नातकोत्तरक गरेकालाई स्नातकको समकक्षता दिन्छ भन्ने कल्पनासम्म थिएन । त्यसैले खाम नखोली घर आएँ,’ उनले भने, ‘तर समकक्षता प्रमाणपत्र त एक तह घटुवा गरेर पो दिइएको रहेछ ।’

पढाइ उत्तर प्रदेशमा तर प्रमाणपत्र वेस्ट बंगालको

समकक्षताको प्रमाणपत्र जारी गर्दा त्रिविले घटुवा मात्र गरेको छैन, शैक्षिक संस्थाको भूगोलसमेत मनलाग्दी परिवर्तन गरेको पाइएको छ । पौडेलले भारतको उत्तरप्रदेशमा रहेको आइआइटी कानपुरबाट स्नातकोत्तर गरेका थिए । तर प्रमाणपत्रमा आइआइटी खडगपुर लेखिएको छ । ‘टाइपिङ मिस्टेक’ ठानेर उनले त्रिविका कर्मचारीसँग यसबारे जिज्ञासा राखेका थिए । तर कर्मचारीबाट कानपुर र खडगपुरलाई त्रिविले एउटै मान्ने गरेको जवाफ पाएको उनले बताए । जबकि, खडगपुर वेस्ट बंगालमा पर्छ ।

फरक–फरक भूगोलमा रहेका यी दुई संस्थालाई पनि त्रिविले एकै भनेको छ । ‘अब टियूले नै कानपुर र खडगपुरलाई एउटै मान्छ भने लौ त भनेर मैले पनि चित्त बुझाएँ,’ उनले भने ।

आफूले स्नातकोत्तर गरेको प्रमाणपत्रलाई त्रिविले केका आधारमा एक तहमुनिको मान्यता दियो भन्ने जवाफ उनले अहिलेसम्म पाएका छैनन् । ‘समकक्षताको प्रमाणपत्रमा स्नातकोत्तरको बराबरी स्नातक लेखिएको छ,’ उनले भने, ‘किन यस्तो गरियो भनेर जवाफ माग्दा केही पाइएन । न त यसलाई सच्याएर नयाँ समकक्षता नै पाइयो ।’ हाल अमेरिकामा रहेका उनले उतैबाट विद्यावारिधि गरिसकेका छन् । अमेरिकामा रहेकाले नेपालमा तत्काल कुनै जागिर खाने सोच राखेर उनले समकक्षता प्रमाणपत्र लिएका थिएनन् । ‘विद्यावारिधि गरेको पनि समकक्षता निकालौं, भविष्यमा केही न केही काम लाग्ला भनेर प्रयास गरेको थिएँ । तर त्रिविले समय र पैसा मात्रै बर्बाद बनायो,’ उनले गुनासो गरे ।

पहिला स्नातकोत्तरको समकक्षता पाइसकेपछि मात्रै विद्यावारिधिको पाइने व्यवस्था छ । स्नातकोत्तरकै समकक्षतामा धोका पाएकाले थप समकक्षता लिने मनस्थितिमा नरहेको उनले बताए ।

‘व्यक्तिगत रूपमा यसले मलाई तत्काल केही घाटा पुगेको त छैन तर त्रिविले कुनै दिन नेपाल फर्किंने बाटो भने बन्द गरिदिएको छ,’ उनले भने । पौडेल हाल अमेरिकाको सिकागोस्थित आरगन नेसनल ल्याबरेटरीमा अनुसन्धान विज्ञ छन् । उक्त रिसर्च ल्याबरेटरी त्यहाँको संघीय सरकारअन्तर्गतको अनुसन्धान निकाय हो ।

त्रिविका उपकूलपति प्रा.डा शिवलाल भुसालले गल्ती स्वीकार गर्दै समकक्षता प्रदान गर्दा घटुवा गर्न नपाइने बताए । ‘समकक्षता भनेकै बराबरी गर्ने भन्ने हो । स्नातकोत्तर गरेका व्यक्तिलाई स्नातकको उपाधि थमाउन पाइन्न,’ त्रिविको गल्ती स्वीकार गर्दै उनले भने ।

समकक्षता प्रमाणपत्र वितरण गर्दा कर्मचारीबाट भएको यो त्रुटिलाई त्रिविसँग जोड्न नमिल्ने उनले जिकिर गरे । स्नातकोत्तर गरिसकेको व्यक्तिले प्रमाणपत्र पाउनेवित्तिकै किन नहेरेको भनेर उनले उल्टै प्रश्न गरे । ‘ल मानौं, कर्मचारीले त गल्ती गर्यो रे । मास्टर्स पढेको व्यक्तिले आफ्नो प्रमाणपत्रमा के लेखेको छ भनेर उति बेलै हेर्नु पर्दैन ?,’ उनले उल्टै प्रश्न गरे । कर्मचारीलाई मात्रै गाली गरेर समस्याको समाधान नहुने भन्दै उनले प्रमाणपत्र जारी गर्ने अधिकारीको बचाउसमेत गरे ।

सास्ती पाउँदै विद्यार्थी

विश्व धेरै अघि बढिसके पनि नेपाल पुरानै ढर्रामा अघि बढेको र यसबाट आफूजस्ता युवाले दुःख पाएको पौडेलले गुनासो गरे । क्यारेक्टर सर्टिफिकेटको प्रबन्ध अन्यत्र हटिसकेको भए पनि नेपालमा राखिएको उनले तर्क गरे । ‘समकक्षताको प्रमाणपत्र लिने प्रक्रिया आफैंमा हाँस्यास्पद छ । नेपालमा सधैं क्यारेक्टर सर्टिफिकेट मागिन्छ । विदेशमा हाम्रोतिर क्यारेक्टर सर्टिफिकेट पनि आवश्यक पर्छ भन्दा मान्छेहरु हाँस्छन्,’ उनले सुनाए ।

विदेशबाट प्रदान गरिएको डिग्रीको आधिकारिकता निक्र्योल गर्न सरकारले यस्ता प्रावधान राखेको हो । पौडेल विद्यार्थीले कहाँबाट डिग्री ल्यायो भन्ने विषयलाई हेरिनुपर्ने र त्यसको आधारमा मूल्यांकन गर्नुपर्ने बताउँछन् । प्रमाणपत्र नक्कली हो या हैन भन्ने विषय विश्वविद्यालयको विद्यार्थी विवरणमा रुजु गराउने हो भने सजिलै पत्ता लाग्ने उनले बताए ।

समकक्षता प्रमाणपत्र वितरणलाई सहज पार्न अन्य उपाय अवलम्बन गर्न सकिने जानकारहरू बताउँछन् । तर त्रिविले यसतर्फ ध्यान दिएको पाइँदैन । त्रिविको परम्परागत सेवा प्रवाहबाट उल्टै सास्ती पाएको गुनासो यततत्र सुनिने गरेको छ । समकक्षता प्रमाणपत्र सहजै प्राप्त गर्न नसक्दा कतिपय स्वदेशभित्र रोजगारीबाट वञ्चित भएका छन् । यसरी वञ्चितमध्ये कतिपयले विदेशकै बाटो समातेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष