NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

राष्ट्रिय सभा : टिआरसी विधेयकमा सत्तागठबन्धन र एमालेबीच बार्गेनिङ

काठमाडौं । सत्तागठबन्धनसँग सहकार्यको प्रस्ताव गरेको एमालेले राष्ट्रिय सभामा ६ सिट मागेको छ । मिलेर जाने वातावरण बने संसद्बाट संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक पारित गर्न सघाउने उसको प्रस्ताव छ । तर, एमालेको भूमिकामाथि आशंका गर्दै सत्तागठबन्धनले सहयोगको सुनिश्चितता खोजेको छ ।

बिहीबार बसेको गठबन्धनका प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले चुनावी सहकार्यबारे गरेको प्रस्ताव ‘ब्रिफिङ’ गरेका थिए । ‘केपी ओलीजीले राष्ट्रिय सभाका ६ सिट एमालेलाई दिन आग्रह गर्नुभएको छ । यसबापत एमालेले टिआरसी सर्वसम्मत रूपले पारित गर्न सहयोग गर्छ भन्नुभएको छ । मैले गठबन्धनमा छलफल गरेर टुंगोमा पुगौँला भनेर ओलीजीलाई भनेको छु,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै भने । त्यसमा छलफल गर्दै नेताहरूले टिआरसीमा सहयोग सुनिश्चित हुने आधार भए मात्रै सहकार्य गर्न सकिने बताएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । 

सत्तागठबन्धनको बुधबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा एमालेले पनि मिलेर जान खाजेको बताएपछि सहकार्यको ठोस प्रस्ताव माग्ने सहमति भएको थियो । त्यसलगत्तै साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओलीले सुरुमा प्रधानमन्त्री प्रचण्डसँग छुट्टै र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवासहित संयुक्त छलफल गरेका थिए । त्यसक्रममा उनले चुनावी सहकार्यको आफ्नो खाका सुनाएका थिए । ओलीको प्रस्तावबारे बिहीबार गठबन्धनको बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेका हुन् ।

स्रोतका अनुसार एमालेले सहयोगको सुनिश्चितता गरे चुनावमा मिलेर जाने विषयमा गठबन्धनका सबै शीर्ष नेता लगभग सहमत छन् । तर, यसअघि पनि टिआरसीमा सघाउने प्रतिबद्धता गरेरै तीनवटा संसदीय समितिको सभापति लिएर एमालेले कार्यान्वयन नगरेको भन्दै नेताहरूले आशंका व्यक्त गरेका छन् । खास गरेर एकीकृत समाजवादीले फेरि पनि एमालेले धोखा दिन सक्ने भन्दै प्रश्न उठाएको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले टिआरसीमा सहयोग सुनिश्चित गरे राष्ट्रिय हितलाई ध्यानमा राखेर गठबन्धन सहकार्यका लागि तयार हुनुपर्ने बताएका थिए । ‘एमालेले समर्थन गर्ने सुनिश्चितता गर्छ भने कांग्रेस सहकार्यका लागि तयार छ । राष्ट्रिय आवश्यकतालाई हेरेर टिआरसीसम्बन्धी विधेयक पारित गर्न हामी सबै एक ठाउँमा आउन आवश्यक छ । गठबन्धन त्यसका लागि तयार हुनुपर्छ,’ स्रोतका अनुसार बैठकमा देउवाको भनाइ थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादवको पनि त्यसमा सहमति थियो । ‘समावेशी बन्नुपर्ने राष्ट्रिय सभामा राजनीतिक भागबन्डामा अल्झनु उपयुक्त होइन । तर, १७ वर्षदेखि रोकिएको टिआरसीलाई टुंगोमा पुर्‍याउन एमालेको सहयोगको सुनिश्चितता गर्न सकिन्छ भने हामी त्यसमा तयार छौँ,’ बैठकमा अध्यक्ष यादवको भनाइ थियो । बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने एमालेलाई समेटेर लैजाने प्रस्ताव गठबन्धनको मर्मविपरीत हुने र औचित्यता नरहेको भन्दै आपत्ति जनाएका थिए । ‘एमालेलाई सिट दिएर जाने प्रस्ताव सैद्धान्तिक र रणनीतिक रूपमा औचित्यहीन छ । हिजो पनि संसदीय समिति दिए सहयोग गर्छौँ भनेको हो । भोलि राष्ट्रिय सभा अध्यक्ष पनि हामीलाई चाहिन्छ भन्ला । एमाले नेताहरू शान्ति प्रक्रियाको मर्मविपरीत बोलिरहनुभएको अवस्थामा हामीले विश्वास गर्ने आधार छैन । कति दिने मात्रैका लागि सहकार्य गर्ने ?’ अध्यक्ष नेपालको भनाइ थियो ।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले दलहरू आन्तरिक र अन्तरपार्टी छलफलमा रहेको बताए । गठबन्धन दलबीच राष्ट्रिय सभा निर्वाचनबारे र एमालेसँग समग्र विषयमा छलफल भइरहेको उनको भनाइ छ । ‘पार्टीहरूमा आन्तरिक रूपमा र पार्टी–पार्टीबीच पनि छलफल भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष