NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

राष्ट्रिय सभा निर्वाचन : सत्तागठबन्धनको आज निर्णायक बैठक

काठमाडौं । एमालेले राष्ट्रिय सभाका रिक्त १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेसँगै सत्तागठबन्धनका दल सिट बाँडफाँटबारे निर्णायक छलफलमा जुटेका छन् । संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक पारित गर्न एमालेको सहयोगको सुनिश्चितता खोजेको गठबन्धनले एमालेबाट ठोस प्रस्ताव नआएको भन्दै आपसमै सिट बाँडफाँटबारे छलफल थालेको हो । गठबन्धनले शनिबार निर्णायक बैठक बोलाएको छ ।

आगामी २१ फागुनमा राष्ट्रिय सभा अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । त्यसमध्ये एकजना राष्ट्रपतिबाट मनोनीत छन् भने बाँकी १९ सांसदका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले २३ पुसमा मनोनयन दर्ताको समय तोकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । 

माओवादी उपमहासचिव वर्षमान पुनले एमाले निर्णयसँगै सहकार्यको सम्भावना टुंगिएको बताए । उनले शनिबार गठबन्धन दलबीचको छलफलबाट सिट बाँडफाँटको टुंगो लाग्ने बताए । ‘एमालेलाई समेटेर लाने विषयमा छलफल भएको हो, तर उहाँहरूले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि सहकार्य गरेर जाने अवस्था रहेन । अब गठबन्धनका दलबीच बाँडफाँटको टुंगो लगाउँछौँ,’ उनले नयाँ भने ।

शुक्रबार एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । सहकार्यका लागि छलफल छाडेर एमालेले यस्तो निर्णय गरेपछि एमालेसँग प्रतिस्पर्धामा जानुको विकल्प नभएको नेताहरूको भनाइ छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले शुक्रबारसम्म एमालेबाट सहकार्यको कुनै सुनिश्चितता नआउँदा सहकार्य गरेर जाने सम्भावना सकिएको बताए । यससँगै गठबन्धनका चार दलबीच सिट बाँडफाँटको चरणमा पुगेको उनको भनाइ छ । ‘एमालेको सहकार्यको छाँट देखिएन । उहाँहरू तयार नहुँदा शुक्रबार संसद्को कानुन समितिको बैठकमा टिआरसी विधेयकको प्रस्ताव पनि आएन । अब गठबन्धनका चार दलबीच छलफल गरेर सिट बाँडफाँटको बाटोमा जान्छौँ । शनिबार बैठकमा सबै विषयमा छलफल हुनेछ,’ पाण्डेले भने ।