NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रातभरको किचलोपछि कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका १० उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सर्वसम्मत उम्मेदवार तय भएको हो ।

कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार नै सहमति बनेको थियो भने मधेसबाट आनन्द ढुंगाना छनोट भएका छन् ।

त्यस्तै बागमतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् भने गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन् ।

लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ। उनी संस्थापनइतर पक्षकी हुन्। कर्णालीमा कृष्णबहादुर रोकाया उम्मेदवार भएका छन्। उनी कर्णाली कांग्रेस महामन्त्री हुन्। रोकाया संस्थापन पक्षका हुन्।

सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

१० जना मध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ । ४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।

माघ ११ मा हुने चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेको हो। १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भागबन्डा गरेर उम्मेदवारी दिने सहमति भएको थियो।