NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

नेपाल-भारत सीमा विवाद समाधानको काम भइरहेको छ : मन्त्री साउद

डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको जानकारी दिए ।

“कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारततर्फ र भारततिरको नेपालमा आएको छ”, मन्त्री साउदले भने, “यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ ।”

नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेको मन्त्री साउदले बताउनुभयो । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुङ्ग्याउने प्रयास भइरहेको उनको भनाइ थियो । मन्त्री साउदले भारतका विदेशमन्त्री डा एस जयशङ्करले हालै गरेको नेपाल भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे ।

“भारतलाई १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने, पञ्चेश्वर जलविद्युत् आयोजना सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई रु १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायत सम्झौता भएका छन्”, उनले भने, “दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण सार्थक रह्यो ।”

पञ्चेश्वर परियोजना ‘ब्रेक थ्रु’को विन्दुमा

मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरे । उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० को काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने बताए ।

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिङ्गो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो । पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पु¥याउने मन्त्री साउदले विश्वास व्यक्त गरे। उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजना अगाडि बढाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या घट्ने बताए ।