NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

युक्रेनलाई चार अर्ब २० करोड अमेरिकी डलर सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन र युद्धग्रस्त मुलुकबाट भागेका लाखौं शरणार्थीलाई सहयोग गर्न चार अर्ब २० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

गाजा युद्धले हालैका महिनाहरूमा चर्चा बटुलेको छ भने फेब्रुअरीमा युक्रेन–रूस युद्ध तेस्रो वर्षमा प्रवेश गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिस र पूर्वी युरोपमा २३ लाख शरणार्थी र तिनका सहयोगी समुदायसम्म पुग्ने अपेक्षा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले भनेको छ, ‘हालैको आक्रमणले युद्धको विनाशकारी नागरिक लागतलाई उजागर गरेको छ भने कठाङ्ग्रिँदो जाडोले मानवीय सहायताको तत्काल आवश्यकतालाई जोड दिइरहेको छ ।

सन् २०२२ को फेब्रुअरीमा भएको रूसी आक्रमण दोस्रो विश्वयुद्धपछि युरोपेली मुलुकमाथिको सबैभन्दा ठूलो आक्रमण र यसका कारण निम्तिएको शरणार्थी सङ्कट सन् १९३९ देखि सन् १९४५ को द्वन्द्वपछि महाद्वीपले सामना गर्नुपरेको सबैभन्दा ठूलो शरणार्थी सङ्कट बनेको छ ।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष युक्रेनमा एक करोड ४६ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता पर्ने बताएको छ । यो युक्रेनी जनसङ्ख्याको ४० प्रतिशत हो ।

संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लाखौं बालबालिका युद्धको अग्रपङ्क्तिमा रहेका समुदायमा बस्छन् र उनीहरू युद्धका कारण त्रसित भएका, आघातमा परेका र आफ्ना आधारभूत आवश्यकताबाट वञ्चित भएका छन् ।

ग्रिफिथ्सले भने, ‘यो तथ्यले मात्र हामीलाई युक्रेनमा थप मानवीय सहायता ल्याउन सक्दो प्रयास गर्न बाध्य पार्नुपर्छ ।’ उनले थपे, ‘घर, विद्यालय र अस्पतालहरू पानी, ग्याँस र बिजुली प्रणालीहरू जस्तै बारम्बार प्रभावित हुन्छन् । समाजको संरचनामाथि नै आक्रमण भइरहेको छ र यसको विनाशकारी परिणामहरू आइरहेका छन् ।’

ग्रिफिथ्स र शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिप्पो ग्रान्डीले जेनेभास्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयमा संयुक्त पत्रकार सम्मेलनमा उक्त योजना सार्वजनिक गरेका हुन् । रूस–युक्रेन युद्धका कारण करिब ६३ लाख मानिस युक्रेनबाट भागेका छन् र शरणार्थीका रूपमा रहेका छन् ।

क्षेत्रीय शरणार्थी प्रतिकार्य योजनाले २३ लाख शरणार्थी र शरणार्थीलाई आश्रय दिँदै आएका सहयोगी समुदायसम्म पुग्न एक अर्ब १० करोड अमेरिकी डलर आवश्यकता रहेको उल्लेख गरेको छ । ‘युक्रेनका लाखौं शरणार्थीलाई अझै पनि तत्काल सहयोगको खाँचो छ,’ ग्रान्डीले भने ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विद्यालय जाने उमेरका युक्रेनी शरणार्थी बालबालिकामध्ये आधा मात्र सहयोगी देशका विद्यालयमा भर्ना भएका छन् भने एक चौथाइ शरणार्थीलाई स्वास्थ्य सेवाको पहुँचका लागि संघर्ष भइरहेको छ ।शरणार्थीमध्ये केवल ४० देखि ६० प्रतिशत मात्र रोजगारीमा छन् । उनीहरूले पाएको रोजगारी प्रायः उनीहरूको योग्यताभन्दा कम छ भने अझै पनि धेरै आफूलाई समर्थन गर्ने कुनै साधनको अभावका कारण असुरक्षित छन् ।

ग्रान्डीले भने, ‘सहयोगी देशहरूले सुरक्षा प्रदान गर्न र उनीहरूलाई समाजमा समावेश गर्ने प्रयास जारी राखेका छन्, तर धेरै कमजोर शरणार्थीहरूलाई अझै पनि मद्दतको आवश्यकता छ । उनीहरूलाई फर्कन दबाब दिनु हुँदैन किनभने उनीहरू निर्वासनमा जीवन यापन गर्न सक्दैनन् ।’

‘सबै शरणार्थीहरूलाई मद्दत गर्नुपर्दछ र उनीहरूको प्रतिभाको प्रयोग र निर्माण गर्ने अवसरहरू दिनुपर्छ । परिस्थितिले अनुमति दिएको खण्डमा उनीहरूलाई अन्तिम स्वैच्छिक फिर्तीको लागि तयार गर्न सकिन्छ ।

सन् २०२३ मा युक्रेनका लागि मानवीय सहायता योजनाले ३.९ अर्ब अमेरिकी डलर माग गरेको थियो र ६४ प्रतिशत रकम खर्च गरिएको थियो । संयुक्त राष्ट्रसङ्घले विशेषगरी रूसी सेनाले कब्जा गरेको क्षेत्रमा पहुँच चुनौतीका बावजुद सन् २०२३ मा युक्रेनमा एक करोड पाँच लाख मानिससम्म सहायताकर्मी पुगेको जनाएको छ ।

यस वर्ष आफ्नो विश्वव्यापी मानवीय अपीलमा संयुक्त राष्ट्रसङ्घले आफ्नो उद्देश्यहरूमा लगाम लगाउने प्रयास गरेको छ । यो वर्ष ३.१ अर्ब अमेरिकी डलर माग गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले भनेको छ, ‘सन् २०२४ को प्रतिकार्य रणनीति देशभरका अति गम्भीर मानवीय आवश्यकता भएका व्यक्तिहरू, विशेष गरी अग्रपङ्क्तिमा रहेका व्यक्तिहरूमा केन्द्रित छ ।’

रूसले आफ्नो शस्त्रागारलाई बलियो बनाउँदै हालैका हप्ताहरूमा युक्रेनमाथि हवाई आक्रमण तीव्र पारेको छ । यसले लामो युद्धको लागि तयार भएको छ र यसको अर्थव्यवस्थालाई पुनः निर्देशित गरेको छ ।