NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

जसले एक वर्षमा गरिन् लोक सेवाका पाँच परीक्षा उत्तीर्ण

रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् ।

उनले भनिन्, “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ ।”

परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन् । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिइन् । “स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ”, उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिंने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।”

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा पनि अध्ययनरत छिन् ।