NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जनतालाई केन्द्रमा राखे कांग्रेस बलियो हुन्छ : सभापति देउवा

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताएका छन् । नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने बताए ।

सभापति देउवाले कांग्रेस नेपाली जनताको काम गर्न स्थापना भएको पार्टी भएको उल्लेख गर्दै देशका जुनसुकै कुनामा रहेका सर्वसाधारणको बीचमा पुगी उनीहरुको सुख दुःखमा साथ दिनुपर्नेमा जोड दिए ।

“कांग्रेसलाई ठूलो पार्टीको रुपमा स्थापित गर्न पार्टीभित्रको एकता बलियो हुनु आवश्यक छ”, उनले भने, “राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र पार्टीलाई बचाउन कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नै पर्छ ।” नेपाली कांग्रेसलाई ठूलो पार्टीको रुपमा विकास गर्न विभिन्न पार्टीसँग निर्वाचनमा गठबन्धन गर्दै अघि बढेको र देशको राजनीतिक परिस्थितिलाई हेरेर गठबन्धन गर्नुपरेको उनले बताए ।

लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको बेला लोकतन्त्रवादी एक भएर त्यसलाई बचाउन जरुरी भएको उल्लेख गर्दै सभापति देउवाले माओवादीलाई शान्ति सम्झौतामार्फत लोकतान्त्रिक प्रक्रियामा ल्याएको बताए । “नेपालको संविधानले सबै जातजातिलाई समान सहभागीताको व्यवस्था गरेको छ, राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको छ”, उनले भने । हरेक पालिकामा प्रमुख वा उपप्रमुख महिला हुनैपर्ने व्यवस्था नेपालको संविधानले गरेको उल्लेख गर्दै सभापति देउवाले यस्तो व्यवस्था अन्य कुनै पनि राष्ट्रको संविधानमा नभएको दाबी गरे ।

पोखरा पर्यटकीय सहर भएकाले यहाँको ताल संरक्षण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमितरुपमा सञ्चालन गर्न कांग्रेस सक्रियरुपमा लाग्ने भन्दै सभापति देउवाले यहाँको पर्यटनको विकासमा पार्टीले ध्यान दिने बताए ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइरालाले हरेक कार्यकर्ताले बिपीको सिद्धान्तलाई अँगालेर अगाडि बढ्न सके देशमा उद्यमशीलताको विकाससँगै समृद्धि हासिल हुने बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनमा लोकप्रिय नेतालाई मात्र टिकट दिनुपर्नेमा जोड दिए । कांग्रेसभित्रको गुट उपगुटलाई पन्छाउँदै अगाडि बढ्न सके मात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको मर्म र भावनाअनुसार सङ्घीयतालाई बलियो बनाउने कुरामा पार्टी नेतृत्व लाग्नुुपर्नेमा जोड दिए । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्नसक्ने भएकाले कांग्रेस सुधारिनुको विकल्प नभएको बताए ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, गोविन्द भट्टराई, गुरु बराल, शारदा पौडेल, उर्मिला थपलिया, सरस्वती अर्याललगायतले आ–आफ्नो धारणा राखेका थिए ।