NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

देशका दुई ठूला ‘आइटी माफिया’ अख्तियारको हिरासतमा

काठमाडौं । सत्तामा जोसुकै आएपनि उनीहरुलाई हात लिएर सूचना प्रविधिकसम्बन्धि ठूला ठेक्का हात पार्दै आएका दुई व्यक्तिलाई अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई आयोगले बुधबार पक्राउ गरेको हो । दुवै जना आइटी माफियाका रुपले बदनाम छन् । यसअघि अख्तियारले नै उनीहरुविद्धर छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । उनीहरुले थप भ्रष्टाचारजन्य गतिविधि गरेको सूचनाका आधारमा आयोगले पक्राउ गरेको हो । उनीहरुले विदेशी मुद्राको अवैध कारोबार गरेको, विदेशको पिआर लिएको लगायतका अभियोग छ ।

आयोगले जारी गरेको बिज्ञप्तीमा भनिएको छ,‘ नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेलले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी परेको उजूरीका सम्बन्धमा यस आयोगबाट अनुसन्धान भइरहेकोमा निजहरूले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर बिदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको तथा विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई मिति २०८०/१०/१० गते नियमानुसारको जरुरी पक्राउ पूर्जी दिई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ।’

सामान्यतया आयोगले रंगेहात बाहेकका भ्रष्टाचार मुद्दामा यसरी पक्राउ गर्दैन । तर, दुवै जनाले आयोगलाई अनुसन्धानमा असहयोग गरेकाले पनि पक्राउ परेका हुन् । ठूला प्रतिवादीलाई हिरासतमा राखेर आयोगले भ्रष्टाचारविरुद्ध थप निर्मम हुने संकेत पनि दिएको छ ।