NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सामूहिक हत्यामा दोषी ठहर भएकी कैली १४ वर्षपछि पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा संलग्न एकजना महिला पक्राउ परेकी छन् । सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन् ।

सामूहिक हत्या प्रकरणमा संलग्न कैली तामाङलाई मोरङ प्रहरीको सहयोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । तामाङलाई मोरङको केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट पक्राउ गरिएको उनले बताए ।

प्रहरीले आज निजलाई इलाका प्रहरी कार्यालय चैनपुर ल्याइएको छ । बीस वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भए पनि फरार थिइन् । गत २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ प्रहरीको फरार सूचीमा थिइन् ।

कर्तव्य ज्यान मुद्दाकी प्रतिवादी तामाङलाई घटनामा संलग्न रहेको भनेर सङ्खुवासभा जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ । जिल्ला अदालतले २०६६ साल फागुन १२ गते निजलाई २० वर्ष कैद सजाय तोकेको थियो । सङ्खुवासभाको साबिकको सिद्धकाली–२ का मङ्गल लिम्बू र योगेन्द्र दाहालको २०६० साल फागुन १० गते सामूहिक हत्या भएको थियो । खानेपानीको पाइप हराएको विवाद उत्कर्षमा पुग्दा पारिवारिक नाता सम्बन्धका आठजना मिलेर दुईजनाको सामूहिक हत्या गरेको पाइएको थियो ।

दुई पक्षबीच भएको विवादमा हाल पक्राउ परेकी कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ र लोकबहादुर तामाङ मिलेर मङ्गल र योगेन्द्रको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रनाउ श्रेष्ठले जानकारी दिए । घटनामा संलग्नविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दाको १४ वर्षअघि नै अदालतबाट फैसला भइसकेको थियो ।